विराटनगर । विराटनगरमा मंगलबारदेखि १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता फागुन ७ गतेसम्म विराटनगरस्थित सहिद रङ्गशालाको कर्भड हलमा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन मंगलबार दिउँसो १ बजे हुनेछ ।
यो प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेलाडीको वरियता क्रम तय गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । वरियता छुटाउने गरी पहिलो पटक प्रतियोगिताको सुरुवात गरीएको उनले बताए ।
प्रतियोगितामा ३ सय बढी खेलाडीहरूको सहभागिता हुनेछ । अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको एक मात्र उत्कृष्ट प्रतियोगिता हो । यसमा नेपालका चर्चित खेलाडीदेखि जुनियरसम्मकाले सहभागिता जनाउने छन् । यो प्रतियोगिताले खेलाडी उत्पादन गर्न ठुलो मद्दत गरेको छ ।’
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ बरीयतामा रहेका पुरुष एकल, शीर्ष १२ बरीयतामा रहेका महिला एकल, शीर्ष १६ बरियता बाहेकका पुरुष एकल, शीर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधा रहेको छ ।
करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ५ लाख ९८ हजार रहेको छ । जसअन्तर्गत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ वरियता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । यस विधामा खेल्ने खेलाडीहरूले खेलमा सहभागिता जनाउने बित्तिकै १ हजार ५ सय प्राप्त गर्ने छन् ।
यसैगरी लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्ने छन् । क्वाटर फाइनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्ने छन् । सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जित्ने छन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उच्च वरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्षमाथि र ५५ वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकलतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।