लोड हुँदैछ...

मेनु

सन्दीप लामिछानेलाई क्रिकेटको राष्ट्रिय टिममा राखियो

सन्दीप लामिछानेलाई क्रिकेटको राष्ट्रिय टिममा राखियो

काठमाडौं । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै उनलाई टिममा समावेश गरिएको हो ।

क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए । छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबार उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि सन्दिपसँगै केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए ।

फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि सन्दिपले नियमित प्रशिक्षण सुरु गर्ने क्यानका क्रिकेट म्यानेजर विनोद दासले बताएका छन् । नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए । फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममै समावेश गरेको हो ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।