नेयमारले कोरियाविरुद्ध खेल्ने सम्भावना बलियो

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध खेल्दैछ । चोटका कारण पछिल्लो खेल गुमाएका स्टार फरवार्ड नेयमारले कोरियाविरुद्ध खेल्ने बलियो सम्भावना रहेको छ ।

ब्राजिलका प्रशिक्षक टिटेले खेलको अघिल्लो दिन नेयमारले साँझमा प्रशिक्षण गरेपछि उनको अवस्था हेरेर निर्णय लिने बताएका थिए । ‘नेयमारले आज साँझ प्रशिक्षण गर्नेछन् । उनको अवस्थाबारे प्रष्ट जानकारी आएपछि मात्र निर्णय लिनेछु । आजको प्रशिक्षणमा उनको अवस्था हेर्नेछौं । अहिले नै खेल्छन् वा खेल्दैनन् भनेर म झुटो आश्वासन दिन चाहन्न । म हरेक कुरा प्रष्ट राख्न चाहन्छु र नेयमारबारे मेरो निर्णय आजको प्रशिक्षणमा उनको प्रदर्शन र अवस्था हेरेर लिनेछु,’ उनले भनेका थिए ।

आइतबार साँझ नेयमारले ब्राजिलको प्रशिक्षणमा सहभागी भएपछि खेल्ने सम्भावना बढेको हो । नकआउट चरण खेल भएकाले खेल ३० मिनेट थपिने सम्भावना पनि हुन्छ । त्यसैले नेयमारले सुरुवात गर्ने वा आवश्यकता अनुसार बेन्चबाट आउने प्रष्ट छैन । यद्यपि प्रशिक्षक टिटेले टोलीका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

‘हामीसँग फरक पोजिसनमा खेल्न सक्ने खेलाडी छन् । टोलीको अवस्था अनुसार पोजिसन बदल्न सक्छन् । डिफेन्स होस् या आक्रमण खेलाडीको कमी हुने छैन । चोटको अवस्था अनुसार टोलीको छनोट हुनेछ । ड्यानिलो खेलका लागि उपलब्ध छन् । उनले प्रशिक्षणमा फिर्ता भएर उपलब्ध छन् ।’

सोमबार, १९ मंसिर, २०७९, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर