मंसिर पहिलो सातापछि नेपालीहरु जागै रहने क्रम सुरु भएको छ । एकातिर निर्वाचनको माहोलले ल्याएको तरंग थियो भने अर्कातिर विश्वकप फुटबलको ज्वरो सुरु भइसकेको थियो । त्यसैले नेपाली फुटबलप्रेमीहरु पनि संसारभरका अरु जस्तै टेलिभिजन स्क्रिनमा फुटबलको रमाइलो लिइरहेका छन् । हरेक चार वर्षमा आयोजना हुने विश्वकप फुटबलले नेपाललाई हरेक पटक रोमान्चित बनाउने गरेको छ । आफ्नो सहभागिता धेरै परको कुरा भए पनि नेपाली फुटबलप्रेमीले आफ्नो मन पर्ने टिमलाई समर्थन गरेर आफ्नो फुटबल प्रेम दर्शाउने गरेका छन् । यो हिजो पनि थियो, आज पनि बढेको आकारमा कायम रहेको यो प्रेम भोलि पनि जारी नै रहने निश्चित छ । विश्वकै सबैभन्दा लोकप्रिय खेल र त्यसले दिने आनन्द नेपाली दर्शकले भरपुर उठाइरहेका छन् ।
यसपटक एशियाली मुलुक कतारमा फुटबलको महाकुम्भ विश्वकप चलिरहेको छ । नकआउट चरणका खेलहरु भइरहेको यो बेला नेपाल पनि निश्चय नै तरंगित छ । विश्वकपको यो आकर्षणकै बीचमा आफ्नो मुलुक विश्व फुटबलको त्यो सर्वोच्च मन्चमा कहिले पुग्ला भन्ने चिन्ता र चासो पनि नेपालमा छ । खासगरी विश्वकप फुटबलका बेला नेपालको सहभागिता कहिले भन्ने बहस उठ्ने गर्छ । जसै विश्वकपको ज्वरो ओर्लँदै जान्छ, नेपालमा यो मुद्दा फेरि सेलाउँछ । यसले नेपाली फुटबलको फड्कोलाई रोकिरहेको छ ।
विश्व फुटबलमा यसबीचमा धेरै नयाँ शक्तिहरु उदाएका छन् । कुनैबेला नेपालले नै प्रतिष्पर्धा गरेका मुलुकहरु विश्वकपमा पुगेर सनसनी मच्चाइरहेका छन् । ठीक यहीबेला नेपाली फुटबल भने सुस्ताएको अवस्थामा छ । नियमित घरेलु प्रतियोगिताहरु अनियमित हुने, राष्ट्रिय टिम अनेक विवादको घेरामा पर्ने, फुटबलको सबैभन्दा ठूलो संस्था एन्फा स्वयम् फुटबल विकासको अवरोध बन्ने जस्ता असंगत दृश्यहरु नेपालका लागि बिडम्बना सावित हुँदै आएका छन् । नेपाली फुटबल क्षेत्रको पुनःसंरचना जरुरी भइसकेको लामो समय बित्दा पनि त्यसतर्फ अग्रसर हुन नसक्नु नै नेपालले ठूला मन्चहरु नपाउनुको मुख्य कारण हो ।
फुटबल होस् वा अन्य कुनै खेल अब केवल मनोरन्जनको विषय मात्रै रहेन । यो कुटनीति हो, राजनीति हो, अर्थतन्त्र र विकासको सशक्त माध्यम पनि हो । यदि त्यस्तो नहुँदो त खेलकुदमा ठूला प्रतियोगिता आयोजना गर्न तँछाडमछाड चल्ने नै थिएन । अहिले हामीले ठूला प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था नरहे पनि ठूला प्रतियोगितामा सहभागी बन्ने लक्ष्य राख्ने र सोही अनुसार तयारी थाल्ने काम गर्न सकिन्छ । तर, यसतर्फ राज्य र फुटबलसम्बद्ध संस्थाहरुको गम्भीरता देखिएको छैन ।
सबैभन्दा ठूलो समस्या हाम्रो ‘ग्रास रुट’ फुटबल ज्यादै कमजोर अवस्थामा छ । विद्यालय तहबाट नै फुटबल, क्रिकेट जस्ता खेलहरुमा ध्यान दिने, स्थानीय तह, जिल्ला तहका छनोट खेलहरु नियमित गर्ने, प्रशिक्षणको राम्रो प्रबन्ध गर्ने तथा खेलाडीहरुलाई सकेसम्म बढी एक्सपोजर दिएर अनुभवी तुल्याउनु पर्ने खाँचो छ । तर, दुर्भाग्य के हो भने राष्ट्रिय टिम नै पनि हाम्रोमा फुर्सदिलो बन्ने गर्छ । बेला–बेला हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलबाहेक नेपाली राष्ट्रिय टोलीले ठूलो मन्च पाउँदै पाउँदैन । यो अवस्थाको अन्त्य गर्न पनि एन्फाले दरिलो पहल लिनुपर्छ । तल्लो तहको फुटबललाई बलियो बनाउने, नियमित प्रतियोगिताहरु गर्ने र फुटबल क्षेत्रको अनावश्यक राजनीतिलाई अन्त्य गर्न सके विश्वकपमै त तत्काल नहोला तर साफभन्दा माथिल्लो तहसम्म नेपाली फुटबल चाँडै पुग्नसक्छ ।