भान्सा अग्र्यानिक बनाउने अभिषेकको लक्ष्य

विराटनगर । विराटनगरलाई औद्योगिक शहरका रूपमा चिनिन्छ । औद्योगिक शहरमा पछिल्लो समय १ युवा अग्र्यानिक खानामा जोड दिइरहेका छन् ।

२२ वर्षीय अभिषेक गौतमले घरका भान्सा अग्र्यानिक बनाउने प्रयास सुरू गरेका छन् । तरकारी तथा खाद्यान्नमा अत्याधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन भइरहेका बेला उनले किसानले घरायसी मलको मात्रै उत्पादन गरेका खानेकुरा विराटनगर ल्याउने गरेका छन् । उनले १ नम्बर प्रदेशका किसानले उत्पादन गरेकादेखि अन्य प्रदेशका किसानले उत्पादन गरेका दाल, चामल, फलफूलसमेत बेच्ने गरेका छन् ।
अग्र्यानिक घर नाम दिएर उनले पसल सुरू गरेका हुन् । बारीमै गएर अग्र्यानिक उत्पादन गरेको हो, होइन भन्ने बुझेर मात्रै खरिद गर्ने गरिएको उनले बताए ।

विराटनगर औद्योगिक मात्रै होइन, भारतीय बजार जोगमुनिसँग सीमा जोडिएको बजार हो । विराटनगरका भान्सा जोगमुनिकै बजारले धानेको छ । त्यहाँ लत्ता–कपडादेखि घरायसी सामग्री किन्न जानेको लर्काे लाग्ने गर्छ । विराटनगरमा भन्दा त्यहाँ लत्ताकपडा तथा खाद्यान्न समेत सस्तो पर्ने भएपछि नेपालीहरू भारतीय बजार जाने गर्छन् । भारतीय बजारले असर गरेको विराटनगरमा अग्र्यानिक खाना खुवाउन प्रयासमा रहेका गौतमले उच्च हिमालीदेखि समथर तराईका खानेकुरा किचनमा पु¥याउने प्रयास गरिरहेका छन् ।

अग्र्यानिक वस्तुको महत्व उपभोक्ताले नबुझेको अवस्थाले गर्दा सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त फलफूल तथा खानेकुरामा बल गर्ने गरेको उनले बताए । पछिल्लो समय अग्र्यानिक खाद्य स्टोर, अग्र्यानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिपोर्ट र रेस्टुरेन्टहरू धेरै खुलेका छन् । ‘विषादीयुक्त खानेकुराका कारण विभिन्न खालका रोगहरू देखा पर्न थालेपछि अग्र्यानिक खानेकुराको माग बढ्न थालेको छ,’ उनले भने । रासायनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा फाइदा हुन्छ भन्ने बुझाउन समेत थालिएको उनले बताए ।
१ नम्बर प्रदेशका अर्थाेडक्स चिया, ग्रिन टी चिया, ब्ल्याक टी, किसानले नै उत्पादन गरेका अचार, मह, घ्यू एभोकाडो किभि उनको पसलमा पाइन्छ । घ्यूलाई ब्रान्डिङ गर्ने तयारी समेत गरेको उनले बताए ।

उच्च पहाडी क्षेत्रबाट लोकल (स्थानीय रैथाने) जातका गाईको घ्यू संकलन गरेर ल्याएर आफैंले खारेर तयारी पारेर बेच्ने गरेको अभिषेक बताउँछन् । चरन क्षेत्रमा जडीबुटी खाएका गाईको घ्यू ल्याउने गरेको उनले बताए । जडीबुटी खाएका गाईवस्तुको घ्यू खाँदा स्वाद मात्रै नभई विभिन्न रोगका लागि पनि औषधि बनोस् भनेर संखुवासभाको गुफा चौकी मंगलबारेलगायतका क्षेत्रबाट ल्याउने गरेको बताए ।

जुम्लाको मार्सी चामल, कागबेनीको चामलसमेत बेच्ने गरेका छन् । कागबेनीको चामललाई नेपालकै पुरानो चामल भएको उनले बताए । लोप हुँदै गएका खाद्यान्नको संरक्षण गर्ने उद्देश्यसमेत आफ्नो रहेको उनले बताए ।जेठो बुढोको चामल, जुम्लाको फापरको पिठो, कोदोको पिठो, जहुँको पिठो समेत बेच्ने गरेको उनले बताए । रायो, तोरीको गुन्दु्रकसमेत उनको पसलमा पाइन्छ ।

विराटनगरभन्दा बाहिरसमेत उनीहरूले सामग्री पठाउने गरेका छन् । बुटवल–काठमाडौंलगायतका क्षेत्रमा समेत सामग्री पठाउने गरेको उनले बताए । उनले अनलाइनमार्फत पनि सामग्री पठाउने गरेका छन् ।
उनीबाट नेताहरूले समेत वस्तु किन्ने गरेका छन् । मन्त्रीहरू समेत यहाँ राम्रो खाने कुरा पाइने रहेछ भनेर किन्न आउने गरेको अभिषेक बताउँछन् । प्रेम आले पर्यटन मन्त्री भएका बेला विराटनगर आउँदा दाल, एभोकाडो किविलगायतका खाद्यान्न किनेको उनले बताए ।

रासायनिक मल नहाली स्थानीय गाईभैंसीको भकारो र स्याउलाबाट बनेको प्राङ्गारिक मल प्रयोग गरिने र किटनाशक औषधि पनि प्रयोग नगरी उत्पादन गरिएका सामग्री मात्रै ल्याएर अग्र्यानिक किचनको विकास गर्न खोजिएको उनले बताए ।
उनको पसलमा बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, म्याग्दी, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोटलगायतका दुर्गमका जिल्लामा फलेका सिमी, गेडागुडी, मार्सी चामल, फापरको पीठो, कोदाको पीठो, गेडागुडी र फलफूलहरू पाइन्छन् ।
‘नेपाली भान्सा अग्र्यानिकले धानिन्छ,’ उनले भने, ‘चिया, कफी, मह जस्ता वस्तुहरू विदेश र्पुयाउँदा आयआर्जन पनि राम्रो गर्न सकिन्छ ।’ सरकारले प्रयोगशाला (ल्याब) स्थापना गरेर बाहिरबाट आयात हुने वस्तुमा कडाइ गरिदिने हो भने अग्र्यानिक बजारले राम्रो स्थान पाउने समेत उनी बताउँछन् ।

मङ्गलबार, २२ कार्तिक, २०७९, बिहानको ०८:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर