विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आ–आफ्ना एजेन्डा लिएर नेताहरू घर दैलो गरिरहेका छन् । तर मतदातामा भने अघिल्लो पटक चुनाव जितेर गएकाहरूले गरेका बाचा पुरा नगरेको भन्दै रुष्ट छन् । अघिल्ला चुनावमा गरिएका बाचा पुरा नभएपछि मतदातालाई चुनावले उत्साह थपेको छैन ।

अघिल्ला चुनावमा मोरङमा जित्ने उम्मेदवारले बाटो पुल सडक बनाउने मात्रै योजना ल्याएका थिएनन् । उनीहरूले तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने देखि विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङ्कासम्मको कोसी राजमार्गको निर्माणमा तीव्रता दिनेसम्मका महत्वकांक्षी योजना अगाडि बढाएका थिए ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्रमा अघिल्लो चुनावमा जितेकाहरू नै अहिले पनि उम्मेदवार भएका छन् । मोरङ १ मा घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा लालबाबु पण्डित यस पटक पनि उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा भने काँग्रेसले सुजाता कोइरालालाई टिकट दिएको छ ।

यसअघि सो क्षेत्रबाट काँग्रेसकै मिनेन्द्र रिजालले चुनाव जितेका थिए । अघिल्लो पटक चुना जितेकाले विकासको त परै जाओस् अनुहार पनि नदेखाएको विराटनगरका गोकुल दाहालले गुनासो सुनाए । उनी मोरङ क्षेत्र नम्बर ६ का मतदाता हुन् । सो क्षेत्रबाट एमालेका लालबाबु पण्डितले चुनाव जितेका थिए । पण्डित यस पटक पनि चुनावी मैदानमा छन् ।

मोरङको क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडाले दीर्घकालीन महत्वका योजनामा तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरेका थिए । बाम गठबन्धन हुँदा उनले सहजै चुनाव जिते । तर अहिले उनका लागि यही क्षेत्रका मतदाता रुष्ट छन् । चुनाव जितेर गए पनि काम गर्न नसकेको आरोप उनी माथि एमालेकै कार्यकर्ताले लगाउने गरेका छन् । खतिवडाको पुरानै प्रतिस्पर्धीसँग यो पटक पनि भेट भएको छ । अहिले भने उनीहरूले घोषणा पत्र सार्वजनिक गरेका छैनन् । सत्ता गठबन्धनबाट काँग्रसेका जिल्ला सभापति डिक बहादुर लिम्बू उम्मेदवार बनेका छन् ।

२०७४ को निर्वाचनमा मोरङ २ बाट डा. मिनेन्द्र रिजालले चुनाव जितेका थिए । गिरिजाप्रसाद कोइरालाले लडेको क्षेत्रलाई नमुना क्षेत्र बनाउने भन्दै चुनाव जितेका रिजाल चुनाव जिते पछि दुई पटक मात्रै निर्वाचन क्षेत्रमा पुगेको भन्दै नेताहरू रुष्ट छन् । उनले खोला तटबन्धन गर्ने सडक कालोपत्रे गर्नेलगायतका योजना ल्याएका थिए । तर चुनाव जितेर मन्त्री भएपछि समेत यो क्षेत्रको विकास नगरेको आरोप काँग्रेसकै कार्यकर्ताले लगाउने गरेका छन् । उनले पाँच वर्षमा भाषण बाहेक कुनै पनि काम नगरेको सोही क्षेत्रका मतदाताको आरोप छ । अहिले त्यो क्षेत्र बाट एमालेका ऋषिकेष पोख्रेल र सत्ता गठबन्धनबाट काँग्रेस नेतृ सुजाता कोइराला आमनेसामने छन् ।

खोलाको पाता कस्ने, सुकुम्वासीलाई पूर्जा दिने लगायतका योजना बाँडेर मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव जितेका भानुभक्त ढकाल पुन उम्मेदवार बनेका छन् । चुनाव जितेर पटक–पटक मन्त्री हुँदा पनि ढकाल आफ्नो निर्वाचन क्षेत्रको विकास लागि पहल नगरेको आरोप खेप्नु परेको छ । चुनाव जितेर गए पनि ढकालले चुनावी बाचा पुरा नगरेको कानेपोखरीका पदम श्रेष्ठ बताउँछन् । चुनाव जितेर गएपछि ढकालको अनुहार नदेखिएको उनले बताए । ढकालका प्रतिस्पर्धी पनि पुरानै हुन । अघिल्लो चुनावमा समेत टक्कर दिएका नेपाली काँग्रेसका सुनिल शर्मासँग ढकालको यस पटक दोस्रो भेट हो ।

मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी चुनावी मैदानमा छन । यसअघि सोही क्षेत्र बाट उनी उम्मेदवार बनेका थिए । सुकुम्वासीलाई जनता आवास कार्यक्रमअन्तर्गत नमुना घर निर्माण गरिदिने लगायतका एजेन्डा लिएर चुनावी मैदानमा गएका थिए । उनले मोरङ सिचाई आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सुकुम्वासी परिवारले नयाँ घर बनाइ दिएका छन् । यो क्षेत्र थारु समुदायको बाहुल्यता भएकाले चुनाव जित्ने रणनीतिमा मोदी रहेका छन् । उनलाई एमालेका नेता विनोद ढकालले टक्कर दिइरहेका छन् । उनले अघिल्लो पटक काँग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए ।

मोरङ ५ मा सत्ता गठबन्धन बाट पुन माओवादीका शिव कुमार मण्डल चुनावी मैदानमा छन् । अघिल्लो पटक उनले काँग्रेसका नेता अमृत अर्याललाई पराजित गरेका थिए । विराटनगरलाई प्रदेशको राजधानी बनाउने तथा रङ्गेली–विराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने मण्डलका प्रमुख एजेन्डा थिए । यस पटक सडक नबनाउने भनेर भोट नमाग्ने उनले बताएका छन् । उनलाई एमाले जसपा गठबन्धनको तर्फबाट जसपाका राजकुमार यादवले टक्कर दिइरहेका छन् । यस्तै एमालेबाट बागी उम्मेदवार बनेका योगेन्द्र मण्डलले पनि दुवै गठबन्धनलाई टक्कर दिइरहेका छन् ।

मोरङमा क्षेत्र नम्बर ६ लाई विशेष महत्वका साथ हेरिएको छ । पुरानै प्रतिस्पर्धी यस क्षेत्रमा पनि भेट भएका छन् । लालबाबु पण्डित र डा. शेखर कोइराला चुनावी मैदानमा छन् । पूर्व सामान्य प्रशासन मन्त्री हुँदा साइकलमा तेल हालेको भनेर विवादित बनेका पण्डित र जनताका कुनै पनि आरोप नलागेका कोइरालाको यो दोस्रो भेटले मोरङ ६ तिर सबैको ध्यान गएको छ ।

विराटनगरदेखि चिनियाँ नाकासम्म जोड्ने किमाथाङसम्मको कोसी राजमार्गको निर्माणमा तीव्रता दिने, साथै विराटनगर रिङ रोडलाई स्तरोन्नति गर्ने, चुवानको समस्या समाधान गर्ने योजना समेत उनका योजना थिए । तर, उनले कुनै पनि योजनामा चासो नदिएको आरोप मतदाताले लगाउने गरेका छन् । यही क्षेत्रकी मतदाता रहेकी निरा अधिकारीले पण्डितले विकासका नाममा एक ट्याक्टर गिटी बालुवा पनि नखसालेको आरोप लगाएकी छिन् । अघिल्लो पटक झिनो मत अन्तरले हारेका कोइराला यस पटकको चुनावबाट संसदमा छिर्ने प्रयासमा छन् ।

अघिल्ला चुनाव जितेका सांसदहरूले काम नगरेपछि मतदताहरू यस पटक भने उम्मेदवारका प्रतिबद्धता पत्र र उनीहरूका बारेमा अध्ययन गरेर मात्रै मतदान गर्ने पक्षमा देखिएका छन् । विकास गर्ने खालको नेताका खोजीमा मतदाता छन् । चुनाव चिन्ह भन्दा पनि उम्मेदवार हेरेर उनीहरूलाई प्रतिबद्धता गराएर मात्रै मत हाल्ने कल्पना अधिकारी बताँउछिन् । अघिल्लो पटक चुनाव जितेकाहरू भने अधुरा काम पुरा गर्ने भन्दै भोट मागिरहेका छन् ।