विराटनगर । चाडपर्व नजिँदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो ।
दशैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । विगतका चाडपर्वमा भएका अवान्छित्, चोरी, हत्या र सवारी दुर्घटना आदि घटनाहरुलाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनतर्फ लैजाने उनले बताए ।
‘कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तवरले सबैले चाडपर्व मनाउन सक्छन् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं,’ एसपी कोइरालाले भने, ‘प्रदेश राजधानी विराटनगरलगायत केही स्थानलाई विशेष रेखांकन गर्दै सबै ठाउँमा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाउँछौं ।’
धार्मिकस्थलहरूमा हुने भक्तजनको भीडभाड, चोरी, लुटपाट, झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभावलगायतमा पनि प्रहरीले विशेष निगरानी बढाएको छ । व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, चाडपर्वमा यातायातको सहज उपलब्धता, हातहतियार तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको एसपी कोइरालाले बताए ।
महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणका साथै आर्थिक कारोबार हुने स्थानमा चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीसँगको समन्वय र सहकार्य गर्ने र पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महवत्पूर्ण स्थानमा विशेष निगरानी बढाइएको उनले बताए ।
‘चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि साधा पोशाकमा विशेष टोली परिचालन गरेका छौं,’ एसपी कोइरालाले भने, ‘मोरङमा १ हजार २ सय ९१ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक रहेको र २४१ जना प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी माग गरिएको छ ।’