लोड हुँदैछ...

मेनु

अपाङ्गता भएका व्यक्तिलाई रोजगारका लागि मेला

अपाङ्गता भएका व्यक्तिलाई रोजगारका लागि मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न विराटनगरमा दुईदिने रोजगार मेला आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजी क्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कार्तिक १८ र १९ गते मेला आयोजना गर्ने तय भएको हो । रोजगारीमा अपाङ्गता भएका व्यक्ति नछुटौं, राष्ट्र निर्माणमा सबै जुटौं भन्ने नाराका साथ मेला आयोजना हुने  विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्ने दायित्व निजी क्षेत्रलेसमेत लिने उद्देश्यसहित रोजगारदाता र लाभग्राहीबीचको जमघट गराउन लागिएको जानकारी दिए ।

मेलामा प्रदेश १ का एक सय भन्दा बढी रोजगारदाताहरु र ३०० भन्दा धेरै सेवाग्राहीहरुलाई एकै थलोमा उपस्थित गराएर रोजगारको अवसर सिर्जना गरिने छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुरलगायतका जिल्लाबाट मेलामा रोजगारदाता र अपाङ्गताभएका व्यक्तिहरुले सहभागिता जनाउने छन् । मेलामा सहभागी हुनेहरुको व्यक्तिगत विवरण तयार गरेको र रोजगारदाताको नक्साङ्कनसमेत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मेलामा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारदातासँग प्रत्यक्ष परामर्श गर्नेछन् । त्यसका लागि विभिन्न ९ वटा क्षेत्र निर्धारण गरी परामर्श गराउने तयारी आयोजकको छ । विशेषगरेर शिक्षा, स्वास्थ्य, उत्पादन, हस्पिटालिटी, गार्मेन्ट, बैंक, विकास साझेदार, साना उद्योग अन्तर्गतका सिलाई–कटाईका स्टल राखेर परामर्श प्रदान गर्ने तथा सम्बन्धित व्यक्तिहरुको क्षमताको परीक्षण गर्ने व्यवस्था मिलाइने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राउतले जानकारी दिए ।

रोजगार मेला नेउवा महासंघ, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, करुणा फाउण्डेशनको संयुक्त आयोजनामा सञ्चालन हुनेछ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने मेलामा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट व्यापार संघ सहयोगी रहनेछन् । प्रदेश १ मा २५ जना भन्दा बढीलाई रोजगारी दिइरहेका रोजगारदाताहरु मेलामा रोजगारदाताको रुपमा सहभागी हुने छन् ।

यसअघि आयोजना गरिएको यस्तै मेलाबाट ७२ जना अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी पाएका थिए । उनीहरुमध्ये ७–८ जनाले रोजगारी छोडेपनि बाँकी कार्यरत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस पटक अघिल्लो मेलामा भन्दा बढीले रोजगारीको अवसर प्राप्त गर्नसक्ने विश्वास आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।