जीपी समृति भवन सात वर्षदेखि अलपत्र

झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा बनाउन सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वि.सं. २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनिएको सो सभागृह अहिलेसम्म अधुरै छ ।
सदरमुकामको मध्यभागमा काँसघारीले घेरेको अधुरो भवन अस्थिपञ्जर उभिए जस्तो देखिन्छ । संघीयता कार्यान्वयन हुने क्रममा जिल्ला विकास समितिलाई समन्वय समितिमा रुपान्तरण गर्दा यो सभागृह परियोजना स्थानीय तह, प्रदेश र संघीय सरकारमध्ये कसैलाई पनि हस्तान्तरण गरिएन । अधिकारविहीन अवस्थाको जिससले सभागृह निर्माणको ठेक्काको म्याद थपेर काम अघि बढाउन अझ सकेको छैन ।
झापा सदरमुकाम चन्द्रगढीमा सभा सम्मेलन गर्न सुविधासम्पन्न एउटा पनि सभागृह नभएपछि प्रमुख राजनीतिक दलहरुको छलफलपछि जीपी सभागृह बनाउने निर्णय गरिएको थियो । मेची रंगशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा सभागृहको निर्माण सुरु गरिएको हो । निर्माणाधीन जीपी सभागृहको लम्बाई ५३ मिटर र चौडाई ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अट्ने क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना थियो ।

तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि रु. १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । सभागृह अत्याधुनिक सुविधायुक्त र मुलुककै गौरवको परियोजना हुने शिलान्यास कार्यक्रममा बताइएको थियो । निर्माणको ठेक्का प्रेरा–शाह जेभी निर्माण कम्पनीले पाएको थियो । प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री ओमप्रकाश सरावगी ‘जीपी स्मृति सभागृह’ नेकपा एमालेको सरकारले राजनीतिक पूर्वाग्रह राखेर रोकेको आरोप लगाउँछन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा शिलान्यास भएको यो सभागृहको निर्माण कार्य चलिरहेका बेला सरकार परिवर्तन भयो, नेकपा एमालेको सरकार सत्तामा आएपछि बजेट रोक्यो’ मन्त्री सरावगी भन्छन् ‘अहिले नेपाली कांग्रेसको सरकार भएकाले अब बनाउँछौं ।’ राजनीतिक कारणले नभएर प्राविधिक र कानूनी उल्झनका कारण ‘जीपी स्मृति सभागृह’को निर्माण कार्य अलपत्र परेको नेकपा एमालेका नेता एवम् झापा जिल्ला समन्वय समितिका निवत्र्तमान प्रमुख सोमनाथ पोर्तेलले दावी गरे ।

‘एमालेको सरकारले रोकेको थियो भने कांग्रेससहितको गठबन्धन सरकार सञ्चालन भएको एक वर्ष बितिसक्यो, किन नबनाएको त ?’ जिससका निवत्र्तमान प्रमुख पोर्तेलले भने ‘राजनीतिक कारणले होइन, कानूनी र प्राविधिक उल्झनले परियोजनाको निर्माण कार्य अवरुद्ध भएको हो ।’
सभागृह निर्माणको म्याद थप्ने अधिकार पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय नगरिदिदा ‘जीपी स्मृति सभागृह’को काम रोकिएको उनको भनाइ छ ।

जिसस झापाका निमित्त स्थानीय समन्वय अधिकारी सन्तोष श्रेष्ठले म्याद नथपी निर्माणको कुनै भुक्तानी दिन कानूनी रुपमा नमिल्ने भएकाले अझै पनि काम अघि बढाउन कठिनाई भएको बताए । ठेक्का पाएको प्रेरा–शाह जेभी कम्पनीले २०७२ असार ९ गते सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद २०७४ भदौ ३१ गते समाप्त भएको श्रेष्ठले जानकारी दिए ।

निर्माण व्यवसायीले करीव रु. तीन करोड भुक्तानी पाउन बाँकी रहेको र कति प्रतिशत काम बाँकी छ भन्ने कुनै आधार प्रमाण नभेटिएको उनले बताए । ‘जिसससँग इन्जिनियर नै छैन, कामको कति प्रगति भयो भनेर प्राविधिक लेखाजोखा गर्न सकिने अवस्था रहेन’ उनले भने ‘कानूनी रुपमा अब यो सभागृह जीवित छैन, जिससको नियन्त्रणमा हुने कुरै भएन ।’

निर्माणको म्याद सकिए लगत्तै निर्माण व्यवसायी पक्ष परियोजनाबाट पछि हटेको छ । राजनीतिक सरकार परिवर्तन र कानूनी उल्झन उत्पन्न भएकै बेला निर्माण व्यवसायीले काल्पनिक प्रगति विवरण देखाएर कामभन्दा बढी रकम भुक्तानी लगेको आरोप छ । ऐतिहासिक जनान्दोलन २०६२÷०६३ का नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको सभागृह निर्माणमा लापरवाही भएको भनेर जनगुनासो बढ्दै गएको बेला जिल्ला समन्वय समिति झापाले कानूनी अड्चन हटाएर अधुरो भवनलाई पूर्णता दिन पहल सुरु गरिसकेको जनाएको छ ।

जिसस प्रमुख विश्व बराल सभागृहको निर्माण ठेक्काको म्याद थपी समस्याको समाधान गरिनुपर्ने माग लिएर हाल सिंहदरबार गएका छन् । ‘जे जे गर्दा समस्याको गाँठो फुकेर काम बन्छ, त्यही पहलका लागि काठमाडौं पुगेको छु,’ बरालले भने ‘तीन जना पूर्वप्रधानमन्त्रीहरुले शिलान्यास गर्नुभएको गौरवको परियोजना भएकाले जीपी सभागृहको निर्माण पूरा गर्न हामी प्रतिबद्ध छौं ।’

बुधबार, २९ भदौ, २०७९, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर