विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले चार वटा सामुदायिक विद्यालयको वेबसाइट निर्माण गरी हस्तान्तरण गरेका छन् ।
प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोमबार एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानध्यापकहरूलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।
हिमालय दर्शन कलेजको बिआइएम सातौँ सेमेस्टरमा अध्ययनरत छात्रा प्रशंसा लुइँटेल, बीसिए पाँचौँ सेमेस्टरमा अध्ययनरत सिवानी साह, बीसिए सातौँ सेमेस्टरमा अध्ययनरत भविस भट्टराई र बीएससी सिएसआइटी आठौँ सेमेस्टरमा अध्ययनरत रामाशिष कामतले सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरेका हुन् । लुइँटेलले विराटनगरस्थित सरस्वती मावि, साहले जनपथ स्कुल, भट्टराईले श्री मिल्स मावि र कामतले सरस्वती नमूना स्कुलको वेबसाइट निमार्ण गरेका थिए ।
पढाइमा सिकेको ज्ञान उनीहरूले व्यवहारमा उतार्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । पहिलो चरणमा चार वटा सामुदायिक विद्यालयहरूको वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको उनले बताए । ‘मोरङमा मात्र नभएर अन्यन्त्र जिल्लाका सामुदायिक विद्यालयहरूको पनि वेबसाइट निमार्ण गर्ने हामीले तयारी गरेका छौँ,’ कलेज प्रमुख सापकोटाले भने, ‘यहाँ अध्ययनरत विद्यार्थीले १५ वटा सामुदायिक विद्यालयको निःशुल्क वेबसाइट निमार्ण गरी हस्तान्तरण गर्ने तयारी गरिएको छ ।’ अरू विद्यालयको क्रमशः विद्यार्थीहरूले वेबसाइट निमार्ण गरी हस्तान्तरण गर्नेछन् ।
कलेजका विद्यार्थी लेसान्त सापकोटाले पढाइमा सिकेको कुरा व्यवहारमा उतारेको बताए । उनले आगामी दिनमा अन्य सामुदायिक विद्यालयहरूको पनि वेबसाइट निमार्ण कार्यलाई निरन्तरता दिने बताए । विद्यार्थीहरूले निमार्ण गरेको वेबसाइट विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू माझ प्रस्तुत गरेपछि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका निर्देशक भेषराज पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले हिमालय दर्शन कलेजले दक्ष जनशक्तिहरू उत्पादन गर्न सुरु गरेको बताए । कलेजमा अध्ययन गर्दै आएका विद्यार्थीले सिकेको ज्ञान व्यवहारमा उतार्दै सामुदायिक विद्यालयको निःशुल्क रूपमा वेबसाइट निमार्ण गरी हस्तान्तरण गरेको बताए । दक्ष प्राविधिक जनशक्तिहरू उत्पादन स्थानीयस्तरमा हुन थालेपछि काठमाण्डौं जानुपर्ने बाध्यताको पनि अन्त्य भएको उनले बताए । पढाइसँगै विद्यार्थीहरूलाई स्वरोजगार बनाउने ध्यानमा कलेज गएको उनले सुनाए । हिमालय दर्शन कलेजले चाँडै कम्पनी दर्ता गरी विद्यार्थीलाई स्वरोजगार बनाउने तर्फ अघि बढेको उनले बताए ।
कार्यक्रममा बोल्दै जनपथ स्कुलका प्रधानाध्यापक हरि प्रसाद पराजुलीले सामुदायिक विद्यालयको गतिविधिको सम्पूर्ण जानकारी दिन बनाएको वेबसाइट निक्कै प्रभावकारी रहेको बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार गर्ने हो भने प्रविधिमा पनि लगानी गरिनुपर्ने बताए । निजी क्षेत्रबाट विद्यालयको हरेक गतिविधि देखाउन निर्माण भएको वेबसाइट प्रदान गर्ने विद्यार्थीहरूलाई उनले आभार प्रकट गरे । कलेजका एकाडेमी प्रमुख कुशल निरौला र कलेजका प्रध्यापक कमल साहले प्राविधिक सहजीकरण गरेका थिए ।