कोरोनाको संक्रमण जारी रहेका बेला मुलुकभर अहिले डेंगुको संक्रमण फैलिएको छ । यसले महामारीको रुप लिनु अघि नै सतर्कता अपनाउने काममा लाग्न जरुरी छ । संक्रमण उच्च हुँदा सतर्कता देखाउने तर अरुबेला पूरै सुस्ताउने सरकारी कार्यशैलीले यस्ता महामारीले सताउने गरेको छ । प्रत्येक वर्ष डेंगु संक्रमण दोहोरिइरहेको छ । डेंगु संक्रमणको सम्भावनाका दृष्टिले सरकार स्वयम्ले ‘उच्च जोखिमक्षेत्र’ प्रदेश १ मा पूर्व सतर्कता पटक्कै छैन । यसले सक्रमण दर ह्वात्तै बढाउने जोखिम छ ।
कुनै बेला ज्यादै ठूलो चर्चासहित सतर्कता देखाइएको डेङ्गु रोगविरुद्धको अभियान संक्रमण घट्दै जाँदा सधैं सेलाउँछ । वर्षायाम सकिनासाथ संक्रमण शुरु हुने डेंगुविरुद्ध पूर्व सतर्कता जरुरी रहने विषेशज्ञ चिकित्सकहरु नै बताउँछन् । तर, जनस्वास्थ्य सम्बद्ध तथा मातहतका निकायले प्रभावकारी पूर्व तयारी गरेका छैनन् । जसको परिणाम स्वरुप संक्रमित संख्या बढ्ने गर्छ । केही दिनयता संक्रमण उच्च भएपछि देशभर सतर्कताको लागि आह्वान भइरहेको छ । हरेक वर्ष वर्षा सकिने बित्तिकै डेङ्गुका रोगी बढ्ने गर्छन् । वर्षा सकिएपछि विभिन्न ठाउँमा पानी जमेको हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टेले फुल पार्ने गर्छ । त्यही लामखुट्टे (एडिस एजिप्टाई, पोथी)ले रोग सार्छ । असोज र कात्तिक महिनामा यस्तो संक्रमणको खतरा बढ्ने हुनाले उच्च सतर्कता जरुरी छ ।
लामो समयदेखि जमेको पानीमा, पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । उक्त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । याम परिवर्तनसँगै लामखुट्टेको टोकाई बढ्ने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । डेङ्गुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको जानकारहरुको भनाइ छ । डेङ्गुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने गर्छ । यसबाट बच्न सावधानी अपनाउन जरुरी छ । घर छेउछाउका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, राति वा दिउँसो सुत्दा झुल टाङ्ने, घरका झ्याल ढोकामा जाली लगाउने, सरसफाई गर्ने, कपडा लगाउँदा लामा बाहुला भएका लगाउने गर्दा जोगिन सकिन्छ ।