विराटनगर । विराटनगर–९ स्थित मेट्रो न्यूरो ट्रमा अस्पतालमा तीन जना अनुभवी विशेषज्ञ चिकित्सक आबद्ध भएका छन् । अस्पतालले सोमबार एक कार्यक्रम आयोजना गरी नयाँ चिकित्सक टोलीलाई स्वागत गर्दै नियमित सेवा सुरु गरेको हो ।
अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप कुमार गुप्ता र छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिनारायण घिमिरेले सेवा सुरु गरेका हुन् ।
नयाँ भित्रिएका चिकित्सकहरूमध्ये डा. गिरी कोशी प्रदेशकै पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनले भारतको एम्स दिल्लीबाट एमडी तथा अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट कार्डियोलोजीमा फेलोसिप गरेका छन् । विगत ४५ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय डा. गिरीसँगै ट्रमा र आर्थ्रोप्लास्टी सर्जरीमा २५ वर्षको अनुभव बटुलेका डा। गुप्ता र आधुनिक छालारोग उपचारमा दख्खल राख्ने डा. घिमिरेको आगमनले अस्पतालको सेवा थप सुदृढ हुने विश्वास गरिएको छ ।
अस्पतालका उपाध्यक्ष गोविन्द लुइटेलले अनुभवी चिकित्सकहरूको आबद्धतापछि सेवाग्राहीले अझ भरपर्दो र विश्वस्तरीय उपचार पाउने बताए । ‘‘हामीले न्यूनतम शुल्कमा आधुनिक प्रविधिमार्फत सेवा दिँदै आएका छौँ, विशेषज्ञ चिकित्सकहरूको थपसँगै यसमा अझ गुणस्तर थपिएको छ,’ लुइटेलले भने । चिकित्सक स्वागतकै अवसरमा अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ठूलो संख्यामा बिरामीहरूको सहभागिता थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. गिरीले टिमवर्कका माध्यमबाट बिरामीलाई गुणस्तरीय र सुलभ सेवा प्रदान गर्न आफूहरू केन्द्रित हुने बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै बिरामीलाई स्तरीय सेवा दिएर उनीहरूको विश्वास जित्नु हो ।’
हाल यस अस्पतालमा २४सै घण्टा न्यूरो सर्जरी, हाडजोर्नी, नाक–कान–घाँटी, दन्त तथा मुख, जनरल तथा ल्याप्रोस्कोपिक, भास्कुलर र प्लास्टिक सर्जरी सेवा उपलब्ध छ । अस्पतालले भ्यान्टिलेटरसहितको न्यूरो आइसीयू, एनआइसीयू र प्रसूति सेवासमेत सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।