विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विद्यार्थीहरूलाई छाता वितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योति आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो ।
विद्यार्थीहरूलाई रोटरी क्लब अफ विराटनगर डाउन टाउनका अध्यक्ष रेखा राठी, पूर्व अध्यक्ष तथा पदाधिकारी, एनआइसी बैङ्क प्रदेश १ का प्रमुख विकास खरेललगायतले विद्यार्थीहरूलाई छाता वितरण गरेका थिए । आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरू श्री ज्योति विद्यालयमा अध्ययनरत छन् । उनीहरूलाई घाम र पानीबाट जोगिन छाता वितरण गरेको क्लबका अध्यक्ष राठीले बताइन् । अध्यक्ष राठीले विराटनगर ४ खारजीको आर्थिक विपन्न मुसर समुदायमा ‘ह्याप्पी भिलेज’ कार्यक्रम सुरु गरेकी छिन् । खारजी बस्तीमा क्लबले एक वर्ष भरी जागरण अभियानदेखि विभिन्न सामाजिक कामहरू गर्ने अध्यक्ष राठीले बताइन् । ‘मेरो कार्यकालमा खारजी गाउँलाई सुविधा सम्पन्न गाउँ बनाउने योजना रहेको छ । यसमा ४ हजार भन्दा बढी यहाँका स्थानीय जोडिनेछन्,’ उनले भनिन्, ‘चाँडै ७५ घरपरिवारमा शौचालय र पानी पिउन चाप कल निर्माण गर्नेछौँ ।’ यहाँका गृहिणी महिला र किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने निःशुल्क सिकाइ कटाइको तालिम पनि सुरु भइरहेको छ । उक्त तालिममा यहाँका २० जना महिलाहरूको सहभागिता रहेको छ ।
छाता वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू किरण कर्ण, अर्चना शर्मा, मधु कावरा, अर्चना तापरिया, सुनिता अग्रवाल, क्लबका सचिव नमिता टिउरीवाल, शिक्षा संयोजक मुक्ता तोदी तथा क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

