विराटनगर । प्रदेश सरकारले निर्माण गरिरहेको ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न गर्ने जनाएको छ । ती सडक र पुलहरुको निर्माण सम्पन्न गर्न ५ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले थप १५ वटा सडकलाई प्रदेश लोकमार्गमा स्तरोन्नति गरेको घोषणा गरेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका १४ वटा जिल्लामा १०० वटा झोलुङ्गे पूल निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि आगामी वर्षका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

पहाडी र अति दुर्गम क्षेत्रमा १२ महिना नै यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज निर्माण गर्ने र त्यसका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विराटनगर, इटहरी र धरानलाई आधुनिक सहरको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको र इटहरीको टेंग्रा खोलालाई स्थानान्तरण गरी बुढी खोलामा मिसाउन आवश्यक बजेट विनियोजन गरेको मन्त्री आङ्बोले जानकारी दिए । विराटनगरको केशलिया र सिंघिया खोलाको दुवै किनारालाई व्यवस्थित गरी करिडोर निर्माण गर्ने घोषणा गरिएको छ ।

प्रदेश सरकारको प्रशासनिक भवन निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गर्न १ करोड, जनता आवास कार्यक्रम मार्फत २४ सय घर निर्माण गर्ने पनि बजेटमार्फत घोषणा गरिएको छ । त्यसका लागि सरकारले २५ करोड विनियोजन गरिएको छ । सरकारले सगरमाथा द्रुत मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।