विराटनगर । अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा भ्रामक र झुट्टा भएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् ।
प्रतिनिधि सभामा बजेट विधेयक अन्तर्गत भइरहेको छलफलका क्रममा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिनका लागि समय माग्दै अर्थमन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।
‘बजेट तर्जुमाका सम्बन्धी विषयलाई लिएर केही मिडियामा आएको विषयलाई लिएर मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने,‘नेपाल सरकार कार्यसम्पादन नियमावली २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट पार्न चाहन्छु ।’
बजेट तथा आर्थिक विधेयक तर्जुमाका सन्दर्भमा सचिव र राजस्व सचिव दुई वटा सचिव रहेको व्यवस्था रहेको र सोहीअनुसार अर्थ मन्त्रालयमा र मातहतमा रहेका अन्य विभागीय कर्मचारीहरूको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरूबाट आएका सुझावहरू समेतलाई ध्यान दिएर बजेट निर्माण गरिएको अर्थमन्त्री शर्माले बताए ।
‘उहाँहरू सचिव स्तरबाट आएको प्रस्ताव निष्कर्षमा ल्याउने र अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा सुझाव दिएर त्यसरी बजेट तयार हुने प्रचलन छ । अहिले पनि त्यसैअनुसार भएको प्रस्ट पार्न चाहन्छु,’ उनले भने ।
मिडिया र प्रमुख प्रतिपक्षीले उठाएको कुरा झुट्टा र भ्रामक रहेको उनले दाबी गरे । उनले भने,‘सबै कामहरू आधिकारिक भएका छन् । कुनै पनि अनधिकृत बजेट बनायो भन्ने कुरा झुट्टा र भ्रामक हुन् ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।