लोड हुँदैछ...

मेनु

अर्थ मन्त्रालयले भन्यो :बजेट निर्माणमा कसैको हस्तक्षेप छैन

अर्थ मन्त्रालयले भन्यो :बजेट निर्माणमा कसैको हस्तक्षेप छैन

विराटनगर । अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियामा तोकिएका पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको स्पष्ट गरेको छ । बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्रीलाई जोडेर आएको समाचारमा सत्यता नभएको मन्त्रालयले प्रष्ट पारको हो ।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको बताएका हुन् ।

‘बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा माननीय अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव ९राजश्व०र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकसमेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकका बजेटसँग सम्बन्धित विषयहरू तयार गरी बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

बजेट निर्माण प्रक्रियामा असम्बन्धित व्यक्ति सहभागी रहेको भन्ने समाचार गलत भन्दै मन्त्रालयले अर्थतन्त्र सुधारका लागि क्रियाशील अर्थमन्त्रीको सम्बन्धमा तथ्यभन्दा कपोकल्पित र भ्रमपूर्ण समाचार प्रेषित भएको बताएको हो ।

‘परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहनुभएका माननीय अर्थमन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds