लोड हुँदैछ...

मेनु

विद्युत् महसुल नतिर्ने ९६५ जना ग्राहकको लाइन काटयो

विद्युत् महसुल नतिर्ने ९६५ जना ग्राहकको लाइन काटयो

 इनरुवा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र इनरुवाले समयमा विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेको छ ।प्राधिकरणको वितरण केन्द्र इनरुवाले ६० दिनसम्म २५ हजार वा सोभन्दा बढी बक्यौता रकम नबुझाउने ९६५ जना ग्राहकको लाइन काटेको हो ।

विद्युत महसुल संकलन विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० दिनसम्म महसुल नबुझाएको अवस्थामा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने अधिकार प्राधिकरणमा छ । बक्यौता नबुझाउने जिल्लाका विभिन्न क्षेत्रका ९६५ जना ग्राहकको लाइन काटिएको इनरुवा वितरण केन्द्रका प्रमुख अभिनव झाले जानकारी दिए ।

इनरुवा नगरपालिका, कोसी, हरिनगर, भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रका महसुल नबुझाएका ग्राहकको लाइन काटेको प्रमुख झाको भनाइ । साथै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाले एक हप्तासम्म बाँकी रहेको महसुल नबुझाएको खण्डमा थप १५५ जना ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।

प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि सर्वसाधारणले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् । चालु आर्थिक वर्षमा लाइन काटेर कारबाही गरिएका ९६५ जना ग्राहकबाट २ करोड १ लाख ४० हजार ८५९ रुपैयाँ महशुल उठाउनुपर्नेमा जेठ २७ गतेसम्म ८१५ जनाबाट १ करोड ८६ लाख ७० हजार ५५२ रुपैयाँ बक्यौता असुल भएको छ ।

लाइन काटेपछि चालु आर्थिक वर्षको हालसम्म सो बराबरको बक्यौता रकम उठाएको र अझ १५० जना ग्राहकबाट उठाउन बाँकी नै प्राधिकरणले जनाएको छ । सडकबत्तीलगायत गरी अझै ३०५ जना ग्राहकबाट झण्डै ९ करोड हाराहारी महसुलबापत बक्यौता रकम उठाउन बाँकी रहेको प्राधिकरण इनरुवाले जनाएको छ ।

रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिने प्राधिकरणले २२ दिनभित्र महसुल नबुझाए थप जरिवाना गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds