विराटनगर ।विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको तयारी थालेको छ । आइतबार नगरसभामा पेश गर्ने नीति कार्यक्रम र बजेटको विषयमा छलफल गर्न कार्यपालिका बैठक बसेको थियो । बैठकमा बजेटको विषयमा छलफल भएपनि निर्णयमा पुगेको छैन । आइतबार छलफल नसकिएपछि सोमबार बस्ने गरी बैठक स्थगित भएको छ ।
कार्यपालिका बैठकमा वडागत बजेट सिलिङको बारेमा छलफल भएको थियो । बैठकमा १९ वटा वडालाई बढीमा २५ करोड रुपैयाँसम्मको सिलिङ दिन सकिने प्रस्ताव गरिएको थियो । तर, महानगर प्रमुखको उक्त प्रस्तावमा वडाध्यक्ष सहमत नभएपछि बैठक लम्बिएको हो । वडाध्यक्षहरुले वडाका लागि कम्तिमा पनि २ करोडको दरले बजेट दिने गरी सिलिङ तोक्न माग गरेका थिए ।
यस्तै बैठकमा महानगर प्रमुख र उपप्रमुखले खर्च गर्नसक्ने गरी ३५ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव आएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।मेयर र उपमेयरले पदभार ग्रहण गर्दा गरेको पहिलो निर्णय भने पहिलो कार्यपालिका बैठकमा प्रस्तावको रुपमा पेश भएन । पहिलो निर्णयमा प्रमुख नागेश कोइरालाले महानगरको कर घटाउने र उपप्रमुख शिल्पा निराला कार्कीले घरेलु हिंसामा परेका महिलाहरुका लागि कोष बनाउने निर्णय गरेका थिए । पहिलो कार्यपालिका बैठकमा दुवै प्रस्ताव पेश नभएपछि छलफलसमेत भएन ।
कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको तर कुनै निर्णय नभएको उनको भनाइ थियो ।
बैठकमा वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मियाँ, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
बैठकमा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोचित रुपमा बजेट वितरण गरिने आश्वासन दिए ।
संविधान बमोजिम स्थानीय तहहरुले वैशाख १० गते नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कार्यपालिकाले सिलिङ तोकेपछि सरोकारवालाहरुसँग छलफल गरेर बजेट तर्जुमा गर्ने महानगरको तयारी छ ।

