विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तत्कालिन नेतृत्वले ढंग पुर्‍याउन नसकेकोले दुईतिहाई बहुमतको सरकार ढलेर आफ्नो नेतृत्वमा सरकार गठन भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका सांसदहरुले गरेको कडा टिप्पणीको आज प्रदेशसभा बैठकमा जवाफ दिँदै मुख्यमन्त्री राईले चार वर्ष सरकार चलाएर ढंग पुर्याउन नसकेकाले भर्खरै बनेको सरकारमाथि गालगीगलौज गर्नु अशोभनीय भएको बताए ।

‘सरकार बनाउन र चलाउन पनि ढंग चाहिने रहेछ’ मुख्यमन्त्री राईले भने, ‘तपाईहरुले ढंग पुर्याउन नसक्दा दुईतिहाईको सरकार ढले र ढंग पुर्याउँदा म जस्तो १० सिटे मुख्यमन्त्री भएको नविर्सन आग्रह गर्दछु ।’ मुख्यमन्त्री राईको पार्टी नेकपा एकीकृत समाजवादीको प्रदेश १ को प्रदेशसभामा १० सांसद छन् ।

सरकार गठनको प्रक्रियालाई लिएर एमाले सांसदहरुले बारम्बार घोचपेच गरेको गुनासो गर्दै मुख्यमन्त्री राईले ‘४७ वटै पार्टीको एक–एक जना संसद मिलेर पनि सरकार बन्ने संवैधानिक व्यवस्था अध्ययन गर्न सुझाब दिए । पाको र धेरै समय राजनीति गरेकाहरुले सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने उनको भनाइ छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थनमा मुख्यमन्त्री बनेका राईले गएको सरकारको गलत कामको कारण अहिले सरकार अफ्ठेरोमा परेको बताउँदै अघिल्लो सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिएको बताए । कुनैपनि सरकारले अघिल्लो सरकारका सबै कार्यक्रम हटाएर सबै नयाँ कार्यक्रम नल्याउने बताउँदै उनले एमालेले नीति तथा कार्यक्रम पुरानै फोटोकपी गरेको र नयाँ कार्यक्रम समेट्न नसकेको भन्दै गरेको आलोचनाको प्रतिवाद गरे । ‘एकातिर साथीहरुले पहिलेकै कार्यक्रमको निरन्तता भन्नुभयो भयो र कतिपयले फोटोकपी भन्नुभयो’ उनले भने, ‘अर्कोतिर उहाँहरुले नै काम नलाग्ने कार्यक्रम एको भन्नु अनौठो छ ।’ फोटोकपी हो भन्ने अघिल्लो सरकारले काम नलाग्नै कार्यक्रम ल्याएको स्वीकारोक्ति हो त भन्ने उनको प्रश्न थियो ।

पूर्वमुख्यमन्त्री शेरधन राईप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले चार वर्षसम्म सरकारमा बसुन्जेल केही नगर्ने र नयाँ आएको सरकारलाई अनावश्यक आरोप लगाएको मुख्यमन्त्री राईले गुनासो गरे । ‘आफू चार वर्ष सरकारमा बस्दा केहि गर्न नसक्ने अनि अहिले गर्नुपर्ने कामको सुची पेश गर्नुको औचित्य हुन्न’ उनले भने, ‘कम्तीमा संसदमा आफ्नो पदको मर्यादा र गरिमा सबैले राखौं ।’

सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भएपनि प्रदेश सरकारले केही गर्दै गरेन र गर्दैन भन्नु पूर्वाग्रही हुने उनले बताए । अघिल्लो सरकारले विद्यालयलाई सहयोग गर्ने कार्यक्रम राखेको भन्दै उनले त्यसलाई अहिले निरन्तरता दिँदा त्यसबेला सरकार सञ्चालन गर्नेहरुले संविधान विपरित भन्नु अनौठो भएको उनको भनाइ छ । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौँ ?’ उनको प्रश्न थियो ।