विराटनगर ।मिर्गौलाका बिरामीहरुलाई सरकारले निःशुल्क डायलासिस सेवा दिएपनि कोसी अस्पतालमा उपचारका लागि जाने बिरामीहरुले ‘एभी फिस्टुला’ बनाउनका लागि निजी क्लिनिकमा महंगो शुल्क तिर्न बाध्य भइरहेका छन् । अस्पतालमा ‘एभी फिस्टुला’ बनाउने दक्ष चिकित्सक नभएका कारण बिरामीहरुले सरकारी अस्पतालबाट सेवा लिनबाट बञ्चित हुनुपरेको छ ।
कोसी अस्पतालमा डायलासिस सेवा सुरु गरेपनि सरकारले अहिलेसम्म ‘एभी फिस्टुला’ बनाउने दक्ष चिकित्सक नियुक्त गरेको छैन । सरकार उदासीन हुँदा बिरामीहरुले फिस्टुला बनाउनकै लागि हरेक पटक रकम खर्च गर्नुपर्ने बाध्यता भएको हो ।
अस्पतालमै फिस्टुला बनाउन सकेमा बिरामीले सस्तोमा सेवा पाउन सक्ने मोरङ कटहरी १ की ६० वर्षे अलादी बिबीले बताइन् । उनी सात वर्षदेखि मिर्गौला फेल भएर उपचाररत छिन् । ‘कोसीमा डायलासिस गरेको वर्ष दिन भयो,’ उनले भनिन्, ‘नियमित जस्तै डायलासिस गर्न आउने गरेको छु । निःशुल्क डायलासिस हुने अस्पतालमा फिस्टुला बनाउने डाक्टर रहेनछन् र मलाई उपचार महंगो परिरहेको छ ।’ सरकारले कोसी अस्पतालमा एभी फिस्टुला बनाउने चिकित्सक राखिदिनुपर्ने उनले बताइन् ।
अलादेवीले मात्र हैन कोसीमा नियमित उपचारका लागि बिरामीहरुले फिस्टुला बनाउने दक्ष जनशक्ति अस्पतालमा व्यवस्था गर्न माग गरेका छन् । कोसीमा नियमित १० देखि २० जना डायलासिस गर्दै आएका छन् । यहाँ उपचार गर्न आउने मिर्गौला पीडित बिरामीहरूले एउटै माग रहेको छन्, ‘कोशीमा एभी फिस्टुलाको दक्ष जनशक्ति दरबन्दी कायम गरि चिकित्सक राखिदिनुपर्ने ।’
‘एभी फिस्टुला’ बनाउने दक्ष जनशक्ति नहुदा चर्को शुल्क तिरेर निजीमा बिरामी जान बाध्य भएका छन् । डायलासिस गर्नुभन्दा अगाडि बिरामीले हातमा ‘एभी फिस्टुला’ बनाउनुपर्ने हुन्छ । सिटिभिएस पढेका सर्जन डाक्टरले एभी फिस्टुला बनाउँछन् । एक पटक एभी फिस्टुला बनाएपछि एकदेखि तीन वर्षसम्म डायलाइसिस गर्न मिल्छ ।
मोरङ रतुवामाई नगरपालिका ६ कादुपाडाका ५२ वर्षे विष्णुकुमारी खड्काका दुबै मिर्गौला फेल भएको तीन वर्ष भयो । उनी दुई वर्षदेखि कोशी अस्पतालमा हप्ताको दुई पटक डायलासिस गर्न नियमित आउने गरेकी छन् ।
विराटनगरस्थित कोशी अस्पतालमा ‘एभी फिस्टुला’ बनाउने जनशक्ति नभएपछि उनी नोबेल अस्पतालमा गइन् । उनले १५ हजार रुपैयाँ नोबलमा तिरेपछि हातमा एभी फिस्टुला बनाइदिए । त्यसपछि अहिले उनले कोशी अस्पतालमा हप्तामा दुइ पटक निःशुल्क डायलासिस गर्दै आएकी छिन् ।
‘निःशुल्क डायलासिस त भयो । डायलासिस गर्नुभन्दा अगाडि गरिने एभी फिस्टुला बनाउने दक्ष चिकित्सक पनि कोसीमा राखिदिएको भए हामीजस्तो विपन्न परिवारका बिरामीको लागि राहत मिल्ने थियो,’ कोशी अस्पताल परिसरमा भेटिएकी बिष्णुकमारीले भनिन्, ‘यतिका वर्ष भइसक्यो । तर, हामी जस्तो दुःखीको माग न राज्यले सुन्छ न त अस्पताल प्रशासनले । एभी फिस्टुला बनाउन पैसा तिरेर हैरान भइसक्यौं । बाँचुन्जेल डायलासिस गरिनुपर्ने हुन्छ ।’
केही दिन अगाडि एभी फिस्टुला बनाउने चिकित्सक नराख्दा बिरामीले सास्ती पाएको भन्दै पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण गराएको थियो । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलसहितको टोली बुधबार कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रवाह छिटो र छरितो बनाउन ध्यानाकर्षण गराएका थिए ।
पब्लिक फोरमका अध्यक्ष ढुंगेलले नेपाल सरकारले आर्थिक रुपमा विपन्न मिर्गौलाका बिरामीको निःशुल्क फिस्टुला बनाउने र डायलासिस गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।
कोसी अस्पतालमा दैनिक डायलासिस गर्ने पाँच वटा उपकरण रहेको छ । यहाँ दैनिक २० देखि २५ जना बिरामीले सेवा लिने गरेका छन् । डायलासिस डिपार्टका प्रमुख डा. रोशन खड्काले एभी फिस्टुला बनाउने सिटिभिएस पढेको डाक्टरको संख्या न्यून भएकोले समस्या भएको बताए । ‘एभी फिस्टुला बनाउने सिटिभिएस पढेका डाक्टर प्रदेश १ मा औलामा गन्न सकिने रहेको छ,’ उनले भने, ‘त्यसैले गर्दा पनि समस्या भएको हो । तर, राज्यले मिर्गौलाका बिरामीको समस्या सुनुवाई गरिनुपर्छ ।’
यता कोसी अस्पतालका मेसु डा. यज्ञ खरेलले फिस्टुला लगाउने दक्ष जनशक्ति नहुँदा समस्या भएको बताए । ‘एभी फिस्टुला’ बनाउने चिकित्सकको दरबन्दी कायम गराउन स्वास्थ्य मन्त्रालाई आग्रह गरेको उनले बताए ।
आफु मेसु भएदेखि अस्पताल सुधारका लागि आफु पनि दत्तचित्त भएर अभियानमा लागिपरेको उनको भनाइ छ ।

