लोड हुँदैछ...

मेनु

सेनिटर प्याड आयातमा भन्सार छुट दिने नितिका कारण नेपाली मजदुरलाई रोजीरोटीको चिन्ता

सेनिटर प्याड आयातमा भन्सार छुट दिने नितिका कारण नेपाली मजदुरलाई रोजीरोटीको चिन्ता

विराटनगर । विराटनगर ढाटकी ५८ वर्षीय मालसरी राईले घरछेउकै सेनिटरी प्याड उत्पादन गर्ने जस्मिन हाइजिङ प्रोडक्ट प्रा.लि. उद्योगमा काम गरेको १७ वर्ष भयो । उनले आफ्नो मात्रै नभएर परिवारका अन्य ३ जनाको पनि यही उद्योगबाट आएको पारिश्रमिकले भरथेग गरिरहेकी छिन् ।

अहिले सरकारले ल्याएको कर नीतिले उद्योग बन्द हुनसक्ने हल्ला उनको कानमा पनि परेको छ । उनलाई उद्योग बन्द भएर बेरोजगार हुने हो कि भन्ने चिन्ता छ । ‘साहुले राजस्व धेरै तिर्नुप¥यो भन्नुभएको छ । हामीले पनि काम गरेर घरखर्च चलाउन पाएका छौं । उद्योग बन्द भयो भने हाम्रो जग्गा जमिन पनि छैन । ऐलेनीमा बसेको छु । म सुकुमबासी हुँ । जीविका चल्ने नै यही हो,’ मालसरी भन्छिन्, ‘उद्योग बन्द भयो भने म के गर्नु म त सडकमा आउँछु त, हामीलाई धेरै चिन्ता छ ।’

उनी मात्रै होइन बुढीगंगा–१ मोरङ कै अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । श्रीमान् सवारी चालक हुन् । दुई छोरा पठनपाठन गरिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । छोरा पढाउने र घर खर्च चलाउन उनीहरुले देशमै रोजगारी गरेरै जेनेतेने धानिरहेका छन् । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने ठान्छिन् । ‘अहिले भएको यो जागिर पनि गयो भने मलाई धेरै समस्या हुन्छ, सरकारले यसरी उद्योग बन्द हुने खालको काम गर्नुभएन,’ उनी भन्छिन् ।

खड्का र राईजस्तै सो उद्योगमा काम गर्ने झण्डै १ सय बढी महिला छन् । बिहान बेलुका आफ्नो घरको काम गरेर दिउँसो रोजगारी गरिरहेका उनीहरु सबैलाई उद्योग बन्द हुने डर छ । ‘जसरी हुन्छ उद्योग चल्ने वातावरण बनाउनु प¥यो । बिहान बेलुका छाक टार्न हामीलाई समस्या हुन्छ,’ सोही उद्योगमा मजदुरी गरिरहेकी बुढीगंगा १ कै उमाकुमारी खड्काको भनाइ छ । उद्योगका मजदुरहरुले सरकारले ल्याएको नीतिमा परिवर्तन गरेर उद्योग बचाउनु पर्ने बताउँछन् ।

‘स्वदेशी उद्योगलाई प्रबद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको बताउने गरिएको छ, तर यो नीतिले उद्योगहरु बन्द हुने भए, हजारौं मजदुरहरु बेरोजगार हुने भए,’ अखिल नेपाल टे«ड युनियन प्रदेश १ का सहइन्चार्ज उपेन्द्र रायले भने, ‘यहाँ ठूलो कमिसनको खेल भएको हामीले सुनेका छौं, मजदुरहरु बेरोजगार भए भने हामी रोजगारी माग्दै सडकमा आउनु नपरोस्, मजदुरको पेटमा लात हान्ने काम बन्द होस् ।’
सो उद्योगका व्यवस्थापक राजकुमार सुवेदीका अनुसार उद्योगले गत वर्ष मात्रै १ करोड पिसभन्दा बढी सेनिटरी प्याड भारत निर्यात गरेको थियो । भर्खरै सरकारले ल्याएको बजेटमा उल्लेखित कर नीतिले सेनिटरी प्याड उद्योगको उत्पादन भन्दा आयातित तयारी प्याड सस्तो पर्ने हुँदा अब भने उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

‘आयातकर्ताले १०० को सामानमा १५ रुपैयाँ कर तिरेर आउँथ्यो । हामीले कच्चा पदार्थ ल्याउँदा १०० को कच्चा पदार्थमा ५ रुपैयाँ छुट पाउँथ्यौं । अहिले ९० प्रतिशत छुटमा हाम्रो ५ प्रतिशतबाट घटेर १ प्रतिशतमा आयो । आयातकर्तालाई भने १५ प्रतिशत करमा ९० प्रतिशत छुट हुँदा १.५ प्रतिशतमा आइपुग्यो । त्यसो हुँदा साढे ९ रुपैयाँको ग्याप भयो,’ सुवेदीले भने, ‘यसअघि नै आयातित सेनिटरी प्याडसँग बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको थियो । तर, अब उनीहरुलाई दिएको भारी छुटले त हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा आइपुग्यौं ।’

उनका अनुसार अब नेपालमा आयात हुने सेनिटरी प्याड बजारमा ९० रुपैयाँमा पाउँदा यहाँका उद्योगबाट उत्पादित वस्तु भने १ सय रुपैयाँभन्दा बढी हुने देखिन्छ । ‘यही कारण हाम्रो देशका ४० भन्दा बढी उद्योगको ६ अर्बभन्दा बढी लगानी र ६ हजारबढी मजदुरको रोजीरोटी गुम्ने अवस्था आएको छ,’ सुवेदी भन्छन् । आफ्नो उद्योगमा मात्रै ६० करोडभन्दा बढीको लगानी रहेको उनको भनाइ छ ।

‘यही नीतिगत अवस्था रह्यो भने उद्योगको ढोका लाग्न धेरै दिन लाग्दैन । लाखौंको सामान स्टोरमा छ । अब बजारमा जानसक्ने अवस्था देखिएको छैन, सरकारको कारण पहिले पनि उद्योग धन्दाहरू मासिए भनिन्थ्यो । अहिले हाम्रै अगाडि बन्द हुनेजस्तो देखियो,’ सुवेदी भन्छन् ।
उक्त उद्योगले मात्रै वार्षिक २० करोड प्याड उत्पादन गर्ने क्षमता राख्ने उद्योगीको भनाइ छ । उद्योगले डाइफर मात्रै ४ करोडभन्दा बढी उत्पादन गर्न सक्छ । देशलाई चाहिएको वार्षिक ३० करोड प्याड हो । नेपालमा भएका लगभग ४० वटा उद्योगले ९० करोडभन्दा बढी सेनिटरी प्याड उत्पादन गर्नसक्ने क्षमता राख्ने सुवेदीको दाबी छ । त्यसबाहेक सरकारले लिएको निर्यात प्रबद्र्धनमा पनि आफूहरुले योगदान दिनसक्ने उनको भनाइ छ । ‘अब निर्यात होइन, स्वदेशमै विक्री गर्न सक्ने अवस्था पनि नरहने भयो,’ उनी भन्छन् ।

उद्योगमा ४३ जना नियमित कर्मचारी छन् । यस्तै दैनिक ज्यालादारीको रुपमा १३० जना पुरुष र १ सय जनाभन्दा बढी महिला काम गर्छन् । उद्योगको क्षमता दैनिक दैनिक ४ लाखदेखि साढे ७ लाखसम्म सेनिटरी प्याड उत्पादन गर्नेछ ।

विराटनगरका उद्योगी व्यवसायीका संगठनहरु मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले सरकारले पछिल्लो पटक ल्याएको यसखालका नीति सच्याउन दबाब दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds