विराटनगर । सत्ताबाट बाहिरिएको नेकपा एमालेले १ नम्बर प्रदेशको नामकरणको सहजीकरणको लागि ५ सदस्यीय समिति गठन गरेको छ ।
बिहीबार बसेको नेकपा एमाले प्रदेश १ संसदीय दलले बैठकले हिकमतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो ।
समितिको सदस्यमा जगदीशप्रसाद कुसियत, जीवन घिमिरे, उषाकला राई र अर्जुन राई छन् । आफू सरकारमा भएको बेला नाम राख्न नसकेको एमालेले प्रदेशसभा कार्यकालको उत्तरार्द्धमा समिति बनाएको छ ।
प्रदेशको नामकरणका लागि सत्तारुढ दलहरूसँग समेत छलफल गरेर चालू बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण गर्न पहल गर्ने जनाइएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामकरणका लागि एमालेको साथ खोजेका थिए । उनले ठुलो दल भएको नाताले प्रदेशको नामकरणका लागि आवश्यक सहजीकरणको लागि नेतृत्व लिन एमालेलाई आग्रह गरेका थिए ।
बजेट अधिवेशनको पहिलो बैठकमा उनले नामकरण गर्नका लागि एमालेको महत्त्वपूर्ण हात रहने भन्दै सहयोगका लागि अनुरोध गरेका थिए । सरकारका तर्फबाट स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा समिति गठन भइसकेको छ ।
एमालेले साथ दिए मात्रै प्रदेशको नामकरण हुने देखिन्छ । अहिलेको सरकारसँग सामान्य बहुमत मात्रै छ । नामकरणका लागि दुई तिहाइ बहुमत चाहिन्छ । एमाले मिल्दा मात्रै दुई तिहाइ बहुमत पुग्छ ।
यस्तै आजै बसेको एमाले संसदीय दलको बैठकले शुसान समितिमा शेरधन राई,सार्वजनिक लेखा समितिमा हिकमत कुमार कार्की, उद्योग वन वातावरण तथा पर्यटन समितिमा जगदीश कुसियत र सामाजिक विकास समितिमा जीवन घिमिरे रहेका छन् ।
बैठकले सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रमको चर्को विरोध गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।