विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम सरकारले आज संसदमा पेश गर्दैछ। दिउँसो दुई बजे सुरु हुने संसद् बैठकमा प्रदेश प्रमुख पर्शुराम खाप्ुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने तयारी भएको मन्त्रीपरिषद स्रोतले जनाएको छ। पर्यटनको पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यमा लगानी बढाउने र गुणस्तर बढाउने योजना पनि नीति कार्यक्रममा समेटिने मन्त्रीपरिषद स्रोतले जनाएको छ।

प्रदेश सरकारले व्यवसायिक कृषिको विकास, उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि समूहमा आधारित उत्पादन केन्द्रित अनुदानको नीतिलाई प्राथमिकता दिने तयारी गरेको छ। किसानहरुलाई व्यक्तिगत रुपमा आधारित भएर दिँदै आएको प्रविधि तथा अन्य अनुदानका कार्यक्रम प्रभावकारी नभएको र त्यसबाट अपेक्षा अनुसार लाभ प्राप्त नभएकोले प्रदेश सरकारको कृषि मन्त्रालयले अनुदानको तरिका बदल्न लागेको हो।

उत्पादनको आधारमा दिइने अनुदानबाट कृषक समूह र सहकारी जस्ता संस्थाहरु थप जिम्मेवार र क्रियाशील हुने विश्वास सरकारको छ।

चिया, दूध, अलैंची, मकै, चैते धान जस्ता उत्पादनमा सरकारले उत्पादनमा आधारित भएर अनुदान दिने तयारी गरेको स्रोतको भनाइ छ । यसपटक दूधबाट त्यस्तो अनुदान वितरण सुरुवात हुनेछ।

२०७४ मंसिरमा प्रदेशसभा चुनाव भएपछि गठित प्रदेश १ मा अहिलेसम्म तीन वटा सरकार बनिसकेका छन्। सुरुमा तत्कालीन वाम गठबन्धनले शेरधन राई नेतृत्वमा प्रदेश सरकार बनाएको थियो। झण्डै साढे तीन वर्ष चलेको सरकार नेकपा विभाजनपछि ढलेको थियो। त्यसपछि गत भदौमा एमाले विभाजनका बेला भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बनेको थियो। दुई महिनामै त्यो सरकार पनि ढलेपछि एकीकृत समाजवादीको नेतृत्वमा काँग्रेस, माओवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सहभागी सरकार बनेको थियो।

आज नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेपछि यो सरकारले असार १ मा आफ्नो पहिलो र प्रदेशसभा कार्यकालको अन्तिम बजेट ल्याउनेछ।