काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित बनेको छ।
मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो।नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो। इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडे।
युएईकी महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन्। छनोटमा नेपालको यो पहिलो हार हो। हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो। यता युएईको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।