विराटनगर । बढी भएको बिजुलीलाई नेपाल विद्युत प्राधिकरणले भारतमा बेच्न थालेको छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बिजुली पठाउन थालिएको हो ।
‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेको उनले बताए ।
बर्खायाम सुरू भएसँगै नेपालका नदीहरूमा पानीको सतह बढेर बिजुली उत्पादन बढेपछि मागभन्दा उत्पादन धेरै भएको हो।
भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली बेच्न नेपाललाई स्वीकृति दिएको थियो।
भारतले एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।
प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि।को ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।
प्राधिकरणले योसँगै ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि पठाउने छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुन्छ।
प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औसतमा नेपालले प्रतियुनिट ६ रुपैयाँ ३० पैसा भारूमा बिजुली बेचेको बताए।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।