विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ ।
विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले आज प्रमुख कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि पनि चासो देखाएको छ । बैंकले भारतसँग सीमाना जोडिएका नेपालका ठूला सहरहरुको विकासका लागि अध्ययन गरिरहेको ब्रुक्सले बताए ।
सो क्रममा उनले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्वबैंकका प्रतिनिधिहरुले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ ।