

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले विराटनगरको पुरानो साख फर्काउन नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । विराट व्यापार संघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रममा अध्यक्ष खत्रीले यस्तो बताएका हुन् ।
उनले नेपालको दोस्रो ठुलो सहर तथा औद्योगिक केन्द्र अहिले छैटौँ स्थानमा पुगेको बताए । बिगतको साख फर्काउन उनले निर्वाचित जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे । ‘के कारण र कसको कमजोरीले यो अवस्था आयो भन्नेबारेमा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सोच्नुपर्नेछ,’ उनले भने, ‘विगतका कमीकमजोरीको बारेमा समीक्षा गरेर आगामी दिनमा कसरी विराटनगर साख फर्काउन सकिन्छ भन्ने विषयमा योजनाबद्ध रूपमा निर्वाचित जनप्रतिनधीहरू लानुपर्नेछ ।’
राजनीतिक केन्द्रसँगै औद्योगिक केन्द्रको रूपमा परिचित विराटनगरलाई अन्य साना सहरले जित्नु दुःखको कुरा भएको उनले सुनाए । ‘पछिल्लो समयमा कुनै नयाँ उद्योग सञ्चालन हुन नसक्नु तथा भएका पनि बन्द अवस्थामा पुग्नुले विराटनगरको साख झन्–झन् गुम्दै गएको छ । धेरै जना प्रधानमन्त्री जन्माएको विराटनगरलाई २०७९–८० सालको बजेटमा पनि उपेक्षा गरिएको छ । यसबारे जनप्रतिनिधिले सोचेर काम गर्नुपर्ने छ,’ उनले भने
कार्यक्रममा बोल्दै विराट व्यापार संघका पूर्व अध्यक्षद्वय शिव रिजाल र यादव पोखरेलले महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । महानगरका सडक सौन्दर्यको रूपमा देखाउन सक्नुपर्ने बताउँदै बाहिरबाट आउनेले पनि सडक त विराटनगरको जस्तो होस् भन्ने अनुभूति गराउनुपर्ने बताए । सरसफाइदेखि लिएर सधैँ सडक सफा देखाउन ट्राफिक व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले व्यवसायीले उठाएका सबै समस्या जनप्रतिनिधिलगायत महानगरवासीको साझा समस्या रहेको बताए । विराटनगरको फोहोर मैला व्यवस्थापन, डुबानको समस्या, औद्योगिक क्षेत्रको समस्या सबैको साझा भएको बताउँदै उनले यी समस्या समान गर्न पनि सबै एक भएर लाग्नुपर्ने बताए । जनताको समस्या समाधान गर्नका लागि नै आफूहरू आएको बताउँदै कोइरालाले महानगरको सबै समस्यालाई सम्बन्धित विज्ञहरूसँगको परामर्श लिएर काम गर्ने बताए ।
त्यसै गरी, महानगरकी उपमेयर शिल्पा निराला कार्कीले चुनावको बेलामा जुन चुनाव चिह्न लिएर जुन पार्टीबाट जितेको भए पनि काम गर्दा महानगरवासीको साझा भएर काम गर्ने बताइन् ।
कार्यक्रममा मेयर उपमेयरसहित महानगरका १९ वटै वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो ।