विराटनगर । मोरङको पथरी शनिश्चरे नगरका नव निर्वाचित प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले नगरका शाखा प्रमुखहरूसँग छलफल गरेका छन् ।
परिचयात्मक सहित शाखाहरूले हालसम्म गरेका कार्य प्रगतिका बारेमा जानकारी लिँदै नगर प्रमुख तुम्वापोले नगर र मातहतका वडा कार्यालयहरूमा चुस्त कामकारबाही गरेर नगरवासीको सेवा गर्न सम्बन्धित शाखा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
उपप्रमुख काफ्लेले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा नगरमा उदाहरणीय काम गर्न लागिपर्नुपर्ने बताइन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले योजना, प्रशासनिक गतिविधि सहितका विषयमा प्रस्ट्याएका थिए ।
शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पीताम्बर वस्ती, प्रशासन प्रमुख शिव राई , सहकारी प्रमुख केशवदेवी धमला, स्वास्थ्य प्रमुख मुरारी आचार्य, पशुपक्षी प्रमुख हेमचन्द्र दाहाल, प्राविधिक प्रमुख सन्तोष केसीले शाखाका गतिविधि उल्लेख गरेका थिए ।
भूमि आयोग सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकाल, महिला तथा बालबालिका प्रमुख गीता कट्टेल, सामाजिक सुरक्षा तथा पञ्जी करण प्रमुख जमुना दाहाल र कृषि शाखाबाट टीकादेवी राईले शाखाका गतिविधि बारे जानकारी गराएका थिए ।
हालसम्ममा आन्तरिक आम्दानी लक्ष्यभन्दा बढी भएको, वडामा ८५ प्रतिशत योजना सम्पन्न भएको, गत आर्थिक वर्षभन्दा हालसम्म चालु र पुँजीगत खर्चका योजना र काम बढी सम्पन्न भइसकेको जानकारी गराइएको छ