विराटनगर । आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव संकलन गरेर मन्त्रीहरु राजधानी विराटनगर फर्किएका छन्।
प्रदेशका मन्त्री तथा सचिवहरु, योजना आयोगका पदाधिकारी गएर सुझाव संकलन गरेका थिए ।
तल्लो तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताए ।
बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाहरु मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग छलफल अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सबै जिल्लामा छलफल गरिएको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले जानकारी दिए।
छलफलबाट असार १ मा आउने प्रदेशको र स्थानीय तहको असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमबारबाट सुरु हुँदैछ।
अधिवेशनको पहिलो दिन सोमबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्दैछ। जेठ २५ मा नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन् ।