काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साँढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।
जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्यदूत देशबन्धु बस्नेतका अनुसार नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएका हुन् । उनले १५ मे बिहान ४ बजेर ५८ मिनेटमा सगरमाथामा पाइलो टेकेका थिए ।
सगरमाथामा जाम्बियाको झण्डा फरफराउनुको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नुरहेको बस्नेतको भनाइ छ । नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् ।
तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुबै देशहरू कम विकसित र ल्याण्ड लक छन् ।
दुबै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन्।
जाम्बिया शान्तिमय र राजनीतिक रूपले स्थिर देश हो । जाम्बियामा सन् १९९१ मा सत्ताको राजनीतिक हस्तान्तरण बहुदलीय चुनावमार्फत भएको थियो । अफ्रिकी मुलुकहरुमध्ये जाम्बिया सुरक्षित देशका रुपमा रहेको छ ।
जाम्बियामा स्वतन्त्र प्रेसको व्यवस्था रहेको छ भने सक्रिय नागरिक समाज र अर्थव्यवस्थामा केही प्रतिनिधि समूहहरू सक्रिय छन्।