विराटनगरको उपमेयरमा जित्नेको भन्दा बदर मत धेरै

विराटनगरमा खसेको ८९ हजार ३९६ मतमध्ये प्रमुखमा २१ हजार ३५८ र उपप्रमुखमा ३४ हजार १६७ मत बदर

विराटनगर । २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा अझै धेरै मत बदर भएको छ । निर्वाचन आयोग र दलहरुले मतदाता शिक्षामा ध्यान नदिँदा र गठबन्धनको कारण पनि बदर मत बढेको हो ।

विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा यति धेरै मत बदर हुनुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेद्वारी नदिनु हो भने प्रमुखमा बदर हुनुमा जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेद्वारी नहुनु हो ।

तथ्याङ्क अनुसार प्रमुख पदमा सदर मत ६८ हजार ३६ रहेको छ भने उपप्रमुखमा सदरमत ५५ हजार २२९ रहेको छ । प्रमुख पदको २१ हजार ३५८ र उपप्रमुख पदको ३४ हजार १६७ मत बदर भएको छ । जबकी उपमेयरकी विजेता शिल्पा कार्कीले पाएको मत २५ हजार ६८० मात्र छ ।

सबैभन्दा धेरै मत बदर भएको मत वडा नम्बर ६ मा हो । त्यस वडामा उपप्रमुखमा ३ हजार ८०७ र प्रमुखमा १ हजार ९६५ मत बदर भएको छ । सबैभन्दा कम ७ नम्बर वडामा प्रमुखमा ३९८ र उपप्रमुखमा ९७८ मत बदर भएको पाएइएको छ ।

गठबन्धन गरेर चुनावमा गएका दलहरुले आ–आफ्नो चुनाव चिन्हमा मत माग्दा समर्थक तथा शुभचिन्तकले सोही चिन्हमा मतदान गरेको स्वयं उम्मेद्वार तथा दलका नेताहरु स्वीकार गर्छन् । वडाहरुमा गठबन्धन नभएकोले वडाअध्यक्षका उम्मेद्वारहरुले प्रमुख वा उपप्रमुखमा अर्को दलको चुनाव चिन्हमा मत नै मागेनन् ।

नेकपा माओवादी केन्द्र विराटनगरका नेता भोगेन्द्र यादवका अनुसार वडामा माओवादीका उम्मेदवारले प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवार नभएको बताएपनि मतदाताले हसिया हथौडामा मत दिएको बताउँछन् । मत बदर हुनुमा मतपत्र पनि ठीक नभएको उनको भनाइ छ । ठूलो मतपत्रमा दुईतिर चिन्ह भएकोले मतदाताले छानेर भोट हाल्न नसकेको उनले बताए ।

नेपाली कांग्रेस विराटनगरका सभापति दिपक चापागाईले वडाका उम्मेद्वारहरुले आफ्नो भोट बिग्रन्छ भनेर एकछापे मत माग्दा बदर धेरै भएको बताउँछन् । ‘गाछीमा हाल्नेले गाछीगाछी, छातामा हाल्नेले छातामा हाले’ उनी भन्छन्, ‘वडामा उठ्ने साथीहरुले आफ्नो मत बिग्रन्छ भनेर त्यही अनुसार निर्देशन गरेको बुझिन्छ ।’

महानगरको प्रमुखमा विजयी नागेश कोइराला पनि मतदाताले बाङ्गोटिङ्गो मत हाल्न नसक्ने भएकोले सिधै एउटै चिन्हमा भोट हाल्न भनेको बताए । उनी भन्छन्, ‘नत्र त बिगार्ने अवस्था थियो नि त ।’

धेरै मत बदर हुनुमा गठबन्धन दलका उम्मेद्वार नहुनु मात्रै दोषि नभएको कोइरालाको भनाइ छ । निर्वाचन आयोगले मतदाता शिक्षा अभियान नै नचलाएको कारण पनि बदर मत बढेको उनले बताए ।

जसपाका नेता जयराम यादव भने गठबन्धन दलकै पार्टीहरुले बेइमानी गरेकोले मत बदर भएको बताउँछन् । निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले मतदाता शिक्षा नै नचलाएकोले ठूलो दोषी आयोग भएको उनको भनाइ छ । मतदातालाई उम्मेद्वार नभएको ठाउँमा नहाल्न दलहरुले नभनेको र धेरैले पार्टीगत प्रतिशोध साँधेकोले यस्तो भएको उनको भनाइ छ ।

विराटनगरको उत्तरी क्षेत्रका कांग्रेस र माओवादीहरुले गठबन्धनका मधेशी उम्मेद्वारको चुनाव चिन्हमा मत नहालेको र दक्षिणी क्षेत्रका जनताले पनि पहाडेलाई किन हाल्नु भनेर उम्मेद्वार नभएकै चुनाव चिन्हमा मत हालेको पाइएको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले बदर भएमध्येको ९० प्रतिशत मत उम्मेद्वार नभएको चुनाव चिन्हमा परेको बताए । ‘बद मध्ये उम्मेद्वार नभएको चिन्हमा मत परेको ९० प्रतिशत छ,’ बुढाथोकीले भने, ‘अरू १० प्रतिशत मत मात्र बदर भएको हो । गठबन्धन भएपनि एकछापे मत धेरै आएको देखियो ।’

महानगरमा रहेको कुलमतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७.३५ प्रतिशत अर्थात् ८९ हजार ३७८ मत खसेको छ । अघिल्लो निर्वाचनमा महानगरमा ८० हजार ६८९ मत खसेको थियो । त्यसमध्ये मेयरमा १९ हजार ४१९ मत बदर भएको थियो ।

विराटनगरको प्रमुख तथा उपप्रमुख पदमा नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका थिए । जसमा प्रमुख पदमा कांग्रेसका नागेश कोइराला विजयी बन्दा उपप्रमुखमा एमालेकी शिल्पा कार्की विजयी भएकी छन् ।

जेष्ठ ७, २०७९, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर