विराटनगर । नेपाली काँग्रेसको थातथलो मानिने विराटनगर महानगरपालिकामा कोइराला परिवारबाट तेस्रो मेयर बनेको छन्, नागेश कोइराला ।
प्रजातन्त्रको लागि आन्दोलन सुरु भएको विराटनगरमा २००७ सालको जनक्रान्तिले केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरकारको प्रमुखमा नियुक्त गरेको थियो । केशवप्रसाद २०१४ सालमा गरिएको स्थानीय निर्वाचनमा विराटनगरको मेयर चुनिए। बीपी कोइरालाका साहिँला भाइ उनी काङ्ग्रेस नेता डा.शेखर कोइरालाका बाबु हुन्।
प्रजातन्त्रको पुनःस्थापनापछि २०४९ सालको निर्वाचनमा कोइराला परिवारबाट अशोक कोइराला मेयर निर्वाचित भए। यस पटक नागेश निर्वाचित भएका छन् । तीन जना कोइरालाको परिवार सिन्धुलीको दुम्जाबाट विराटनगर आएका हुन्। नागेश डा.कोइरालाबीच नजिकको साइनो नभएपनि उनीहरु एउटै पुस्तका सन्तान हुन् ।
नागेश विराटनगरमा सम्पन्न परिवारका सदस्य हुन् । उनको महानगरभित्र सयौं विगाहा जमिन रहेको बताइन्छ । उनी विभिन्न उद्यम र व्यवसायमा पनि संलग्न छन् ।
२०३० जेठ ३१ मा जन्मिएका नागेश विद्यार्थी जिवनबाटै राजनीतिमा सक्रिय भएका हुन् । युनिभर्सिटी अफ बाबियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर गरेका उनी नेपाल तरुण दलमार्फत् २०५४ सालदेखि औपचारिक रूपमा नेपाली काङ्ग्रेसको राजनीतिमा होमिएका थिए ।
२०५४ सालमा उनी काँग्रेस विभाजन भएर शेरबहादुर देउवा नेतृत्वमा गठन भएको काँग्रेस प्रजातान्त्रिक निकट तरुण दल मोरङको कोषाध्यक्ष र २०५६ सालमा सभापति भए । लामो समय तरुण दलको नेतृत्वमा रहेका उनी २०६६ सालमा मोरङ काङ्ग्रेसको कोषाध्यक्ष भएका थिए ।
२०७२ मा काँग्रेस मोरङको सचिवमा निर्वाचित भएका उनी २०७८ सालमा भएको जिल्ला सम्मेलनबाट उपसभापतिमा चुनिएका थिए । विराटनरको मेयर बन्न काँग्रेसका केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा.डिला संग्रौला र भीम पराजुलीसमेतले आकांक्षा राखेको भएपनि कोइरालाले सबैलाई उछिन्दै टिकट मात्र पाएनन्, भारी मतान्तरले विजयी भए ।
नागेशले सागर थापालाई ८ हजार ७१५ मतले पछि पार्दै कोइरालाले प्रमुख पदको माला लगाएका हुन्। कोइरालाले कुल ३० हजार १७० मत प्राप्त गर्दा थापाले २१ हजार ४५५ मत मात्र प्राप्त गरे । तेस्रो हुने स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत हात पारेका छन्।
विवादकै बिच उपप्रमुखमा निर्वाचित शिल्पा
गठबन्धनबाट महानगरको प्रमुख पदमा काँग्रेस उम्मेदवार कोइराला विजयी भएपनि उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की विजयी भइन् । उनले गठबन्धनबाट उम्मेदवार भएका जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई पराजित गरेकी थिइन् ।
सामाजिक अभियन्ता र उद्यममा पनि जोडिएकी शिल्पाको जन्म २०३५ मङ्सिर २४ सिरहाको लहानमा भएको हो । विद्यालय तहको अध्ययन लहानमै गरेकी उनले कोशी क्याम्पस विराटनगरबाट प्लस टु, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नातकोत्तर क्याम्पस विराटनगरबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेकी हुन्।
घरेलु तथा साना उद्योग महासङ्घ, लायन्स क्लब, रोटरी क्लब लगायतका संस्थामा आबद्ध रहेकी उनी नेकपा एमाले विराटनगर महानगरकी उपाध्यक्ष छन् । कोशी अस्पताल विकास समितिबाट राजिनामा नदिई उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेज गर्न सर्बोच्च अदालतमा रिट परेको छ । रिटको पक्षमा अन्तरिम आदेश नदिएको भएपनि त्यसबोको मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उपमेयरको टिकट दिएपछि जसपाभित्रै विद्रोह भएको थियो। त्यहि विद्रोहको फाइदा उठाउँदै शिल्पा निर्वाचित भएकी हुन् ।
कार्कीले २५ हजार ६८० मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जसपाका प्रत्याशी अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याएका छन्। उपप्रमुखमा तेस्रो हुने राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४०१ मत प्राप्त गरिन्। स्वतनत्त उम्मेदवार नमिता न्यौपानेले ५११७ मत प्राप्त गरेकी छन् ।
मेयर जितेपनि अल्पमतामा काँग्रेस
महानगरको नेतृत्वमा काँग्रेसका नागेश कोइराला निर्वाचित भएपनि कार्यपालिकामा भने काँग्रेस अल्पमतमा परेको छ । महानगरका वडामा काङ्ग्रेस कमजोर सावित भएको हो । १९ वटा वडामध्ये सबैभन्दा धेरै एमालेका भागमा ९ वटा वडा जित्दा काँग्रेसले ६ वटा मात्र जितेको छ ।
एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष जितेको छ । नेपाली काङ्ग्रेसले ५, ६, ७, ९, १५ र १६ जितेको छ भने महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन्।
२०७४ को निर्वाचनमा विराटनगरमा काँग्रेसले एक्लै मेयर र उपमेयरसहित ७ वटा वडा जितेको थियो । त्यसबेला काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ नम्बर वडा जितेको थियो । एमालेले ३ वटा मात्र २, ५ र ११ नम्बर वडा जितेको थियो भने १२, १३, १४, १५, १७ र १८ गरि ६ वटा वडा जसपाले जित्दा माओवादी केन्द्रले ६ नम्बर वडा तथा स्वतन्त्रले १९ र १० नम्बर वडा जितेको थियो ।