विराटनगर । प्रदेश १ मा हालसम्म १०७ स्थानीय तहको नतिजा आइसकेको छ । अब नतिजा आउन बाँकी ३० वटा तह छन् ।
मतणनाको अन्तिम परिणाम आउन बाँकी ३० स्थानीय तहमध्ये काँग्रेस १४ स्थानीय तहमा अगाडि छ । नेकपा एमाले १२ स्थानीय तहमा अगाडि छ भने एकीकृत समाजवादी १ र स्वतन्त्र उम्मेद्वार एक तहमा अगाडि छन् । एक स्थानीय तहको गणना सुरु हुन सकेको छैन ।
सुनसरीको धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ गठबन्धन र एमालेभन्दा अगाडि छन् । यस्तै इलामको सुर्योदयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि छन् ।
राप्रपा उम्मेद्वार अहिलेसम्म झापाको दमकमा अग्रता कायम गर्न सफल छन् । उदयपुरको त्रियुगामा भने विवादको कारण मतगणना सुरु नै हुन सकेको छैन । उदयपुरको त्रियुगामा मतगणना अझै सुरु हुन सकेको छैन ।
झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र विर्तामोड नगरपालिकामा एमाले उम्मेद्वाहरुले अग्रता कायम राखेका छन् । यस्तै मोरङको बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, बर्जु गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकामा एमालेकै अग्रता छ ।
नेपाली काँग्रेसले मोरङको विराटनगर महानगरसहित रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकामा अग्रता लिएको छ । यस्तै सुनसरीको इटहरी उपमहानगर, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, झापाको कमल गाउँपालिका, गौरीगन्ज, झापा र बुद्धशान्ति गाउँपालिका तथा उदयपुरको कटारी नगरपालिकामा पनि काँग्रेस उम्मेद्वारको अग्रता छ ।
प्रदेश १ का १३७ स्थानीय तहमध्ये बिहीबार दिउँसोसम्म १०७ तहको मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेस ५४ तहसहित पहिलो स्थानमा छ । २०७४ को निर्वाचनमा नेकपा एमालेभन्दा धेरै पछि रहेको काँग्रेसले एमालेलाई धेरै पछाडि छाडेको छ । एमालेले अहिलेसम्म ३५ स्थानीय तह जितेको छ ।
नेकपा र एमालेको विभाजन तथा सत्तारुढ दलको चुनाबी गठबन्धनको कारण काँग्रेसले स्थानीय चुनावमा प्रदेश १ राम्रो फाइदा उठाएको छ । पछिल्लो नतिजा अनुसार काँग्रेस ५४ स्थानीय तह प्रमुख÷अध्यक्ष र ३६ वटा उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो । ३० वटा स्थानीय तहको परिणाम नआउँदै काँग्रेसले अघिल्लो पटक जति जितिसकेको छ ।
२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिने निश्चित भएको छ । एमालेले हालसम्म ३५ वटा प्रमुख÷अध्यक्ष र ४२ उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख÷अध्यक्षमा १२ र उपप्रमुख÷उपाध्यक्षमा २० वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितिसकेको छ ।
अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म १ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।
प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेद्वारले प्रमुख÷अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख÷अध्यक्ष र ५ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!