
अर्जुन आचार्य
स्थानीय निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटक सँधैजस्तै बैमानहरुले भोट बिक्री गरे । कतिपय बैमानहरुले चुनाव जिते । कतिपय बैमानहरु पछुताइरहेका छन् । देशभरको मत परिणाममा यसअघिको एमालेको दम्भ तोडियो । प्रदेश १ मा पनि एमालेको दम्भ तोडियो । तर, मोरङमा भने कांग्रेसको दम्भ तोडिने संकेत देखिएको छ । प्रदेश १ भरको परिणाममा अग्रस्थानमा आइरहेको कांग्रेस यस पटक मोरङमा भने विगतमा जितेको पालिका संख्याभन्दा घट्ने देखिएको छ ।
कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको दम्भ र बेइमानीका कारण मोरङमा पराजय व्यहोर्नु परेको स्वयं कांग्रेसीहरु बताउँछन् । मोरङमा पुरानो साख बचाउनु पर्ने कांग्रेसलाई दबाब थियो । एमालेलाई पुरानो साख बचाउँदै नयाँ थप्नुपर्ने चुनौति थियो । माओवादीले विगतमा पनि धेरै जितेको थिएन । यस पटक केही उपप्रमुख र वडामै उसले चित्त बुझाउनु पर्ने देखिएको छ । जसपा तथा नेकपा एकीकृत समाजवादीले वडामै चित्त बुझाउनु पर्ने हो कि भन्ने संकेत देखिएको छ । ‘यसअघि पनि धेरै जितेको होइन, यस पटक पनि धेरै जित्ने अवस्था थिएन’ भन्ने मानसिकतामा माओवादी देखिन्छ । यसरी हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस नै यहाँका मुख्य प्रतिस्पर्धी थिए । तर, देशभरको माहोलले पहिलो पार्टी बनिरहँदा मोरङमा भने कांग्रेस एमालेभन्दा कम सिटमा थन्किनुपर्ने देखिएको छ ।
डाक्टर शेखर कोइरालाले अन्तिमसम्म गठबन्धनको विरोध गरिरहे । कोइरालाको सोही बोलीमा मोरङका कांग्रेसीहरु पनि लागिरहे । मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले जिल्लामा गठबन्धन गराउने विषयमा ठोस पहल नै गरेनन् । माओवादी, नेकपा एस, जसपाले गठबन्धन गर्नुपर्छ भन्ने मान्यताका साथ छलफलको पहल गरिरहँदा लिम्बू भने स्थानीयस्तरमा भए ठिकै नभए ठिकै भन्ने मानसिकतामा थिए । नेपाली कांग्रेसले मोरङमा सबै पालिकामा जित्ने प्रक्षेपण गरेको थियो । जसको परिणाम उसले कुनै दलसँग गठबन्धन गरेन । मोरङका मिक्लाजुङ गाउँपालिका पनि स्थानीय स्तरमा भएको गठबन्धनकै कारण कांग्रेसले जित निकालेको हो । मोरङका सुन्दरहरैंचा र रतुवामाई नगरपालिकामा पनि गठबन्धन भएकै कारण कांग्रेसका प्रमुखले अग्रता लिइरहेको छ । मोरङको विराटनगर महानगरपालिकामा पनि गठबन्धन नभएको थियो भने एमालेले पछार्ने स्पष्ट संकेत अहिलेको मत गणनाले दिइरहेको छ । त्यसबाहेक कांग्रेसले अग्रता लिएको कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका र जहदा गाउँपालिकामा पनि एमालेसँग कडा प्रतिस्पर्धा भइरहेको छ । यो कांग्रेसका लागि चुनौतिको विषय हो । गठबन्धन हुँदा झापा, धनकुटा, इलाम जस्तो एमालेको प्रभाव क्षेत्रमा जितेको कांग्रेस मोरङमा कमजोर हुनु लज्जाको विषय हो ।
गठबन्धनको भविश्य स्थानीय चुनावसम्म मात्रै हो कि अझै अगाडि जान्छ भन्ने विषयमा बहस सुरु भएको छ । तर, गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म लानुपर्ने देशको आवश्यकता हो । त्यसबेलासम्म पनि शेखर कोइरालाले गठबन्धनको विषयमा आफ्नो निर्णयमा पुनःविचार नगरी इमान्दार बन्दैनन् भने उनलाई पनि यस पटक चुनाव जित्न गाह्रो पर्ने देखिन्छ । यसअघि बाम गठबन्धनबाट पराजय व्यहोरेका शेखर यसपटक एक्लै जित्ने दाउमा छन् । तर, स्थानीय तहको निर्वाचनको मत परिणामले त्यस्तो संकेत देखिँदैन । कोइरालाको निर्वाचन क्षेत्र ६ मा पर्ने बुढीगंगामा एमालेले अग्रता लिएको छ । उनको क्षेत्रमा पर्ने विराटनगरका वडाहरु ४, ५, ६, ११, १२ र १६ हो । यी वडामा पनि कांग्रेसले एमालेसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । ४ नम्बर वडामा एमालेको अग्रता छ । १२ नम्बर वडामा जसपाको अग्रता छ । ५ र ६ नम्बरमा कांग्रेसको अग्रता छ । १६ नम्बर वडा कांग्रेसले जितेको छ । यी वडाको मत परिणाम पुरै आएपछि अझै शेखर कोइराला कति सुरक्षित छन् भन्ने स्पष्ट हुनेछ । शेखर कोइरालाले एक्लै अगाडि बढ्न खोज्ने र माओवादी, जसपा, नेकपा एसलगायतका दलले उनलाई सहयोग नगर्ने हो भने यस पटक पनि उनले पराजय व्यहोर्ने सम्भावना देखिँदैछ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मै पर्ने सुन्दरहरैंचाको नतिजाले पनि कोइरालाको जित तथा हारको स्पष्ट संकेत गर्नेछ ।
यस्तै पार्टी सभापति डिकबहादुर लिम्बूको १ नम्बर क्षेत्रमा पर्ने केराबारी गाउँपालिका एमालेले जितेको छ । उर्लाबारी नगरपालिका एमालेले जितेको घोषणा गर्न मात्रै बाँकी छ । लेटाङ नगरपालिकामा एमालेले जितिसकेको छ । गठबन्धनको कारण जित निकालेको मिक्लाजुङ गाउँपालिकामा पनि माओवादीको सहयोग नलिने हो भने उनलाई पनि जित निकाल्न सहज थिएन । क्षेत्र नम्बर २ मा पनि रतुवामाइ कांग्रेसले अग्रता लिएपनि सुनवर्षीमा एमाले अगाडि छ । २ नम्बर क्षेत्रमा पर्ने कानेपोखरीका ३ वटा एमालेले जितेको छ । रंगेली नगरपालिका पनि एमालेले लिड गरिरहेको छ ।
३ नम्बर क्षेत्रमा पर्ने बेलबारी, कानेपोखरी, पथरीशनिश्चरेमा एमालेले अग्रता लिइरहेको छ । सुन्दरहरैंचामा केही मतले कांग्रेस अगाडि देखिएपनि उपप्रमुखमा एमाले अगाडि छ । ३ नम्बर क्षेत्र पनि कांग्रेसको लागि सुरक्षित देखिँदैन । ४ नम्बर क्षेत्रमा पर्ने कटहरीमा कांग्रेस विजयी भएको छ । ग्रामथानमा कांग्रेस अगाडि छ । ४ नम्बर क्षेत्रमा पर्ने विराटनगरका प्रायः वडामा भने एमालेले अग्रता लिएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ५ मा भने रंगेली र धनपालथानमा एमाले अगाडि छ । जहदामा र विराटनगरका केही वडामा जसपाले जितेको छ । यसर्थ ५ नम्बर क्षेत्रमा पनि कांग्रेसको बलियो पकड देखिँदैन । यसर्थ मोरङमा कांग्रेस र गठबन्धन दलहरु हारको मुख्य प्रवृत्ती भनेको गठबन्धन विरोधी कांग्रेस प्रवृत्ती नै हो । जसको नेतृत्व डाक्टर शेखर कोइरालाले गरेका छन् । यही प्रवृत्तीका कारण स्थानीय निर्वाचनमा मोरङमा लज्जास्पद परिणाम देखिएको छ । अर्को परिणाम संघीय र प्रदेश संसदको चुनावमा पनि ती दलहरुको पराजय देखिए आश्चर्य मान्नुपर्ने छैन ।
Vanja7n.Ward Chutecha
बेलबारीमा गठ्बन्धन नगरेकै कारण काग्रेस र माओबादी लाई घाटा भएको हो
बेलबारीमा गठ्बन्धन नगरेकै कारण काग्रेस र माओबादी लाई घाटा भएको हो गठ्बन्धन गरेको भए मेयर र उपमेयर दुबै हाथ लाग्थियो