विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति मतदातालाई प्रभावित गर्न पुगेका नेपाली काङ्ग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परेर एमाले भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् ।
बुधबार राति १०ः३० बजेतिर कानेपोखरी– २ दलेली बजारनजिकै दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजारनजिकको विपन्न बस्ती पुगेका दुबै समूहबीच जम्काभेट भएपछि झडप भएको हो ।
झडपमा टाउकोमा चोट लागेका उनी उपचारपछि घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ । पौडेल कानेपोखरी–६ का बासिन्दा हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुबै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लङ्घटन गरेको देखिएको बताउँदै थप अनुसन्धान भइहरेको बताए ।
मतदातालाई प्रभावित पार्ने प्रयास हुँदै गर्दा भेट भएपछि दुबै समूहबीच झडप भएको पाइएको उनले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ ।


