विराटनगर ।स्थानीय तहको निर्वाचन नजिक आउँदा अन्डा उत्पादक किसान खुसी भएका छन् । अन्डा उत्पादक संघ मोरङका अनुसार चुनावको प्रचार अभियान सुरु भएपछि अन्डाको मूल्य बढेको छ ।
चुनावमा ठूलो सख्यामा कार्यकर्ता परिचालित भएपछि अन्डाको माग बढ्दा मूल्य पनि बढेको हो । सहज, छिटो र सस्तो हुने भएकाले आ–आफना दलका नेताहरुलाई जिताउन खटिएका कार्यकर्ताहरुलाई चना र अन्डा खुवाउँदै चुनावी प्रचार भएपछि अन्डाको खपत बढेको किसानहरुको भनाइ छ ।
जिल्लामा १५ दिनअघि कार्टुनको २४ सय रुपैयाँ रहेको अन्डा अहिले २७ सय पुगेको छ । अन्डा उत्पादक संघ मोरङका उपाध्यक्ष होम बाँस्कोटाका अनुसार चुनावले बजारलाई चलायमान बनाएकोले होटलहरु पनि राम्रोसँग चल्दा माग बढेको छ । अर्कोतिर केहि समयअघि कुखुरामा वर्डफ्लुसमेत देखिएकाले अन्डाको उत्पादन पनि कम भएकोले मूल्य बढेको हो ।
अन्डा उत्पादक संघ मोरङका अनुसार मोरङमा दैनिक ३ लाख २५ हजार अन्डा उत्पादन हुँदै आएको छ । अन्डा उत्पादनका लागि ४ लाख लेयर्स जातका कुखुरा मोरङका कृषकले पालेका छन् । बजारमा अन्डाको खपत बढ्दा सीमावर्ती भारतबाट पनि अन्डा नेपाल आएको किसानहरुले बताएका छन् ।
नेपालमा अण्डा उत्पादन भएर लामो समय भण्डारण हँुदैन । भएको उत्पादन सबै खपत गर्नुपर्ने बाध्यता रहेको कृषकहरुको रहेको छ ।