
सागर थापा, विराटनगरको मेयरका उम्मेदवार, नेकपा (एमाले)
चुनाबी घरदैलो अभियान सक्दा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
विराटनगर महानगरको १९ वटै वडामा घरदैलो अभियान पूरा गरेका छौं । हाम्रो चुनावीसभा पनि भव्य भएको छ । समृद्ध विराटनगर बनाउने संकल्प बोकेर आफ्नो एजेण्डा सुनाउँदै घरदैलो गर्ने क्रममा जनतामा ठूलो उत्साह देखिएको छ । ‘हाम्रो आवाज सुन्ने, भिजन भएका तपाईँ जस्तो भुइँमान्छे विराटनगरलाई आवश्यक छ’ भन्ने उहाँहरुको भनाइ छ । मतदाताहरू हामीलाई मतदान गर्न इच्छुक र आतुर रहेको पाएका छौं ।
के एजेण्डा लिएर जनताको बिचमा जानुभएको छ ?
मेरो उम्मेदवारी विराटनगरको विकासका लागि हो । विराटनगर प्रदेश १ को राजधानी भएपनि संरचना केही छैन । हामी राजधानी स्तरको सहर बनाउन चाहन्छौं । शिक्षा, स्वास्थ्य र पूर्वाधारयुक्त सहरका रुपमा विकास गर्न चाहन्छौं । विराटनगरलाई डुबानमुक्त सहर बनाउने अठोटका साथ मेरो उम्मेदवारी हो । प्रदेशको संरचना बनाउने सन्दर्भमा ल्याण्डपुलिङमार्फत प्रदेश सरकारलाई मन्त्रालयहरु बनाउन जग्गा उपलब्ध गराउनेछौं ।
विराटनगरको पहिचान हुनेगरी राजनीतिक संग्रहालय बनाउनुपर्नेछ । विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने संग्रहालय स्थापना गर्नेछौं । अनुत्पादक खर्च हुने किसिमका कुनै पनि भौतिक संरचनामा लगानी गर्नेछैनौं । भ्युटावर नबनाउने प्रतिबद्धता छ । महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र बनाउने छैनौं । अनावश्यक कर्मचारी कटौती गरी आन्तरिक व्ययभार घटाउने लक्ष्य रहेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता नीति अख्तियार गरी अगाडि बढ्नेछु । विराटनगर चक्रपथ ५ वर्षमा सम्पन्न गर्न लागिपर्छु । यसैगरी आन्तरिक आय वृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउँछु । भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गर्ने एजेन्डा छ । समृद्ध महानगर बनाउने संकल्प बोकेर उम्मेदवार बनेको हुँ ।
काँग्रेसको गढ मानिने विराटनगरमा चुनाब जित्न त गाह्रै होला नि ?
विराटनगर कसैको गढ हैन । त्यसमाथि काँग्रेस र गठबन्धनभित्रको असन्तुष्टिले मलाई नै फाइदा पुग्दैछ । त्यसैले मैले अहिलेसम्म आफ्नो प्रतिष्पर्धी को हो भन्ने स्पष्ट हुन सकेको छैन । काँग्रेसका नागेश कोइराला कि स्वतन्त्रका उमेश यादव प्रतिष्पर्धी हुन् भन्ने यकिन भइसकेको छैन । विराटनगको उत्तरी क्षेत्रमा मेरो ज्यादै राम्रो माहोल छ । त्यता नागेश कोइरालाको पक्षमा भोट हाल्ने मतदाता न्यून छन् । दक्षिणी क्षेत्रमा उमेश यादवलाई भोट हाल्ने धेरै छन् । विराटनगरको मध्य क्षेत्रमा त्रिपक्षीय प्रतिष्पर्धाको अवस्था छ । यसले सहजै थाहा हुन्छ, हाम्रो अवस्था ज्यादै राम्रो छ ।
वितगमा काँग्रेसले एक्लै जितेको विराटनगरमा गठबन्धनसँग प्रतिष्पर्धा गर्दा एमालेले चुनाब जित्छ त ?
काँग्रेसभित्र मात्र नभएर गठबन्धनभित्र पनि अहिले तीब्र असन्तुष्टि रहेको छ । जनतासँग प्रत्यक्ष भिजेको नेताहरुलाई टिकट नदिएर काँग्रेसले पैसावाल नागेश कोइरलालाई टिकट दिएको छ । उम्मेदवार छनौटमै नेता र कार्यकताहरू असन्तुष्ट छन् । गठबन्धनभित्र पनि तीब्र असन्तुष्टि रहेको छ । माओवादीले वडास्तरसम्म गठबन्धन नभएको भन्दै गठबन्धनलाई सहयोग गरेको छैन । माओवादी केन्द्रकी विराटनगर महानगर सचिब नमिता न्यौपानेले बागी उम्मेदवारी दिनुभएको छ । यसैगरि जसपाले अध्यक्षका छोरालाई उम्मेदवार बनाएको भन्दै तीव्र असन्तुष्टि रहेको छ । जसपाका नेता उमेश यादवले त पार्टी परित्याग गरि मेयरमा उम्मेदवारी दिनुभएको छ । त्यसैले पनि यो गठबन्धनलाई जनताले पत्याएका छैनन् । त्यही भएर गठबन्धनभित्रको असन्तुष्ट मत ल्याएर म चुनाव जित्नेछु ।
अर्कोतिर यो गठबन्धन हाम्रो विकास रोक्न हो भनेर जनताको बीचमा चर्चा छ । त्यसैले जनताले विकास विरोधीहरुलाई, विकास गर्न नचाहनेहरुलाई मत हाल्दैनौं भनिरहेका छन् । यसपटक विकासको नाममा एमालेलाई मत हाल्छौं भनेर जनताहरु भन्दैछन् । त्यसैले म यसपटक कुनैपनि हालतमा जित्नेमा विश्वस्त छु ।
अघिल्लो चुनाबको मत हेर्दा गठबन्धनका उम्मेदवार दोब्बर बढि मतले अगाडि छन् । तपाईको कुरो पत्याउने आधार के छ ?
– त्यो आधार पनि एमालेको अहिले बनेको सांगठनिक संरचना पनि हो । विराटनगरमा त्यस्तो कुनै पनि टोल बस्ती छैन, जहाँ हाम्रो कमिटी नभएको होस् । हरेक टोलमा एमालेको कमिटी छ । अघिल्लो पटक चुनाव हुँदा एमालेसँग कमिटीगत संरचना थिएन । अहिले हरेक टोलमा १० देखि २२ वटासम्म कमिटी छन् । अहिले प्रष्ट रूपमा एमालेको चुनाव जित्ने आधारहरू रहेका छन् । काँग्रेसले उठाएको उम्मेदवारलाई विराटनगरको भुगोल पनि राम्रोसँग पनि थाहा छैन । उहाँबाट जनताले कस्तो विकासको अपेक्षा राख्ने ? विराटनगरको भुगोल र सीमाबारे जानकारी नभएको व्यक्तिबाट विकास हुन्छ भनेर जनताले पत्याएका छैनन् । विराटनगरको भुइमान्छे, नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको कारण पनि मेरो पक्षमा माहौल बनेको छ । अर्कोतिर गठबन्धन हुँदा अघिल्लो पटक परिणाम नआएकोले गठबन्धन सफल हुँदैन । हामी एक्लै चुनाब जित्दैछौं ।
एमालले उठाएको उम्मेदवार समावेशी नभएको जनगुनासो छ नि ?
– गठबन्धनले उठाएको उम्मेदवारले संविधानको मर्म रक्षा गर्न सकेको छैन । गठबन्धनको नाममा महिलाको अधिकार हनन् गरेको छ । तर, एमालले यस्तो गरेको छैन नि । एमालले खस, आर्य, ब्राम्हण, मधेशी, मारवडी, मुस्लिम, जनजाति गरि विराटनगरको तस्बिर झल्किनेगरि उम्मेदवारी दिएको छ । हाम्रो जित्ने अर्को आधार भनेको पनि यही हो । हामीले सपना बाडेका छैनौं । नागरिकका सपना कलेक्सन गरेका छौं । त्यो सपना पुरा गर्नेछौं । विराटनगरमा काम गर्ने क्रममा म विराटनगरबासीको घरदैलोमा पुगेको छु । म एक सामान्य मान्छे पनि हो । पछि चुनाव जितेर पठाए यस मान्छेसँग सजिलोसँग पहुँच पनि हुन्छ भन्ने आम मनोविज्ञान छ । यो चुनाव जमिनको मान्छे र जमिनदारबीचको लडाइ पनि भएको छ ।