
नागेश कोइराला, गठबन्धनबाट मेयरका उम्मेदवार (विराटनगर महानगरपालिका)
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचार प्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् । घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई पनि अब विट मार्दैछन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । विराटनगर बनाउने भिजनसहित अगाडि बढेको बताउने कोइराला ५ वर्षभित्र विराटनगरवासीले गौरब गर्न लायक महानगर बनाउने आफ्नो संकल्प रहेको सुनाउँछन् । चुनावी प्रचार, एजेण्डा, चुनाव जित्ने आधारसहितका विषयमा केन्द्रित रहेर कोइरासँग गरिएको कुराकानीको सारः
चुनाव कस्तो लागेको छ ?
उम्मेदवार भएपछि स्वभाविक रुपमा चुनाव त लाग्ने नै भइहाल्यो । घरदैलो, कोणसभा, भेटघाटका कार्यक्रम भइहरेको छ । भेट्न नसकेका महानुभावहरूलाई फोनबाटै भएपनि भोट मागिरहेको छु । यो अन्तर्वार्तामार्फत पनि मसहित गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव र १९ वडाका अध्यक्षसहित सदस्यहरूलाई भोट हाल्न अपिल गर्दछु ।
घरदैलोमा पुग्दा महानगरवासीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
महानगरवासीको प्रतिक्रियाले म निकै उत्साहित भएको छु । नागेश कोइराला मेयर भयो भने पक्कै पनि विराटनगर बनाउँछ भन्ने धेरैमा आशा र भरोसा पाएको छु । यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो । मैले तरुण दल र पार्टीका विभिन्न तहमा बसेर काम गर्दैगर्दा समाजसेवालाई पनि निरन्तरता दिएँ । महानगरवासीका दुःखसुखमा साथै रहें । त्यही भएर पनि मेरो उम्मेदवारीले महानगरवासीमा एक किसिमको आशा जगाएको छ ।
महानगरवासीमा तपाईंको उम्मेदवारीले उत्साह जगाउनुका कारण ?
म विराटनगरमै जन्मे, हुर्कें बढे, पढें । मलाई यहाँको माया छ । विराटनगरको धुलोका कण–कणमा मेरो सम्बन्ध छ । त्यसो भएकाले म विराटनगरलाई धेरै माया गर्छु । विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । मैले भन्दै आएको छु ५ वर्षे कार्यावधि पूरा गरेर महानगरबाट बाहिरिँदै गर्दा महानगरवासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु । अर्को के हो भने मलाई कुनै लोभ लालच छैन । भ्रष्टाचारलाई शून्यमा झार्छु । नागेश कोइराला मेयर भयो भने पक्कै भ्रष्टाचार गर्दैन, जे बोल्छ त्यो गर्छ भन्ने महानगरवासीलाई अवगत छ । म जनतालाई दुःख दिने काम गर्दिन । महानगरबाट प्रवाह हुने सेवालाई सरलीकृत बनाउँदै प्रविधिमैत्री बनाउनेछु । हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउनेछु । मेरो काम गर्ने शैली अलि फरक पनि छ । यिनै आधारले गर्दा मेरो उम्मेदवारीले महानगरवासीमा उत्साह जगाएको हुनुपर्छ ।
अर्को कुरा म पाँच दलीय गठबन्धनबाट मेयरमा उम्मेदवार छु भने उपमेयरका उम्मेदवार पनि गठबन्धनबाट अत्यन्तै क्षमतावान र केही गर्नुपर्छ भन्ने पवित्र भावना बोकेका युवानेता अमरेन्द्र यादव हुनुहुन्छ । हाम्रो भिजन, हाम्रो काम गर्ने शैली, हाम्रा योजना, समाजमा हाम्रो छविलगायतका कारणले पनि मतदाता उत्साहित भएको हुनुपर्छ ।
कस्ता एजेण्डा लिएर मतदाताबीच पुगिरहनु भएको छ ?
पार्टीका केन्द्रीय सदस्य भीम पराजुली नेतृत्वको जनप्रतिनिधिले सुरु गरेका कामलाई निरन्तरता दिँदै विराटनगरको विकास गर्ने थुप्रै एजेण्डाहरू छन् । हामीले प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छौं । त्यो प्रतिबद्धतापत्रमा धेरै कुराहरू समेटेका छौं । मेरो बानी धेरै बोल्नेभन्दा काम गर्ने छ । म जे बोल्छु त्यो गरेर छाड्छु । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो ‘म जे बोल्छु त्यो गर्छु’ मैले यो भनाइलाई प्रेरणाका रुपमा लिएको छु । त्यसो भएकाले मैले धेरै ठूला योजना अघि सारेको छैन । महानगरवासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन् । पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो । यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ । तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँदिल्लीलाई लिन सकिन्छ ।
भ्रष्टाचार मात्रै नहुने हो भने विराटनगर मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो । भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु । महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु । महानगरका विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खतप गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान र डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्धन निर्माण गरी दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चापलाई कम गर्ने योजना छ ।
करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् । स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन् । सारमा भन्नुपर्दा सफा, सुन्दर, हराभरा, सुरक्षित अनि विराटनगरवासीले गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको टिम बनाएर उहाँहरूको सुझावअनुसार विराटनगरलाई ५ वर्षभित्र मुलुककै नमुना महानगर बनाउनेछु ।
यतिधेरै योजना सुनाउनु भयो, अनि महानगरको सीमित स्रोतले कसरी पूरा गर्नुहुन्छ ?
पक्कै पनि हो, महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ । तर, पूरा गर्न सकिन्छ । प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ । दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन् । उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । यसभन्दा अगाडि पनि एडीवीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ । अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीवी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ । अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ । उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ । मात्रै इच्छाशक्ति र भिजन चाहियो मसित यी दुवै छन् । यसबाहेक विराटनगरमा ठूला मन भएका उद्योगी व्यवसायीहरू हुनुहुन्छ । उहाँहरूसित मिलेर धेरै काम गर्न सकिन्छ ।
यसअघि कोशी कोभिड अस्पताल बनाउँदा यहाँका उद्योगी व्यवसायीहरूले मन फुकाएर सहयोग गर्नुभएको कुरा त तपाईंहरूकै मिडियाहरूमा पनि आएको थियो । यहाँको निजी क्षेत्रलाई पनि सँगसँगै लिएर हिँड्न सकिन्छ । उहाँहरूले विगतदेखि नै विराटनगरको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । यसका लागि मसित स्पष्ट योजना छन् । विराटनगर बनाउने दृढ इच्छाशक्ति छ ।
महानगरमा तपाई विजय हुने आधार के छन् ?
पहिलो त कांग्रेसको संगठन नै हो । विराटनगर कांग्रेसको गढ पनि हो । कांग्रेस एक्लै चुनावमा लड्दा पनि विराटनगरमा जित्छ । अर्को जसपासित केन्द्रदेखि गठबन्धन छ । दुईवटा पार्टीको तालमेल नै जितको आधार हो । अर्को हामीले अघि सारेका एजेण्डा पनि हाम्रो जितको आधार हो । यसबाहेक कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, केन्द्रीय नेताहरू महेश आचार्य, डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली मात्रै होइन पार्टीका आमकार्यकर्ताहरू पनि कांग्रेसलाई जिताउन रातदिन नभनी लाग्नुभएको छ । बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल, समाजसेवी, उद्योगी, व्यवसायी सबै क्षेत्रका व्यक्तिहरु पनि हामीलाई जिताउन लागिरहनु भएको छ । अर्को कुरा एमाले भनेको हावादारी गफ दिने पार्टी हो भन्ने आमजनतामा परिसकेको छ । विराटनगरमा हाम्रो कसैसित पनि प्रतिस्पर्धा छैन हामीले चुनाव जितिसक्यौं भन्दा हुन्छ ।
तपाईंले भ्रष्टाचार शून्यमा झार्छु भन्ने भाषण सबै नेताले गर्छन्, कार्यान्वयन हुँदैन किन ?
म सकारात्मक सोच भएको व्यक्ति हुँ । हामी सबै मिल्यौं भने सक्छौं । भनाइ नै छ मुहान सफा भयो भने तल बग्ने पानी पनि सफा हुन्छ । यदि मुहान फोहोर भयो भने जति नै प्रयास गर्दा पनि तल बग्ने पानीलाई सफा गर्न गाह्रो पर्छ । त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ । मैले भ्रष्टाचार गरिँदा भने अरुले पनि गर्ने आँट गर्दैनन् । यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ ।