कम्युनिष्टलाई मत दिन अधिकारवादी संस्था इन्सेकका संयोजकसहित बुद्धिजीवीको आग्रह

विराटनगर । मानअधिकारवादी संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल संयोजक सोमराज थापासहित विराटनगरका बामपन्थी बुद्धिजीवीले आगामी निर्वाचनमा कम्युनिष्ट उम्मेदवारलाई मत दिन अपील गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै थापासहितका बुद्धिजीवीले स्थानीय तहको निर्वाचनमा कम्युनिष्टहरूलाई हानी हुने र गैरकम्युनिष्टहरूलाई लाभ हुने परिस्थिति निर्माण हुन पुगेकोप्रति चिन्ता जाहेर गर्दै कम्युनिष्टलाई मत दिन आग्रह गरेका हुन् ।

आफूहरु ‘एकता आलोचना एकताको’ द्वन्द्वबादी सिद्धान्तलाई आत्मसात गर्ने पार्टीका कार्यकर्ता भएको भन्दै विज्ञप्तिमा नेताहरूले गरेका गलत कार्यको आलोचना गरेपनि आसन्न निर्वाचनमा कम्युनिष्ट पार्टीहरूलाई नै मत दिन सबैसँग अनुरोध गरिएको छ ।

पुष्पलाल जस्ता सिद्धान्तनिष्ट र नैतिकवान नेताले २००६ सालमा स्थापना गर्नुभएको र हामी जस्ता हजारौं इमान्दार कार्यकर्ताहरूले रगत पसिना बगाएर विकसित गरेको नेपालको कम्युनिष्ट आन्दोलन अहिलेका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूका गैरमाक्र्सवादी चिन्तन र ब्यक्तिवादी सोचका कारण बिखण्डित हुँदै विज्ञप्तिमा जनाइएको छ । कम्युनिष्ट नेताहरु एकले अर्कालाई गाली गर्ने, होच्याउने र सिध्याउने खेलमा लाग्नु नेपालको समग्र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनीहरुले बताएका छन् ।

नेताहरूको गलत सोच र क्रियाकलापले गर्दा दक्षिण एशियाकै सबैभन्दा शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ समाप्त भएको भन्दै उनीहरुले नेताहरूले यसबाट शिक्षा लिई आफ्ना गल्तिहरूलाई सच्याउदै माक्र्सवादी लेनिनवादी ज्ञानको प्रकाशमा अगाडि बढ्नुपर्ने आग्रह गरेका छन् । कम्युनिष्ट पार्टीको विभाजन र त्यसबाट गैरकम्युनिष्टले फाइदा लिएको प्रति उनीहरुले दुःखसमेत व्यक्ति गरेका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा इन्सेक संयोजक थापासहित वाम बुद्धिजीवीहरू केशबप्रसाद गौतम, शिवबहादुर कार्की, देवीबहादुर घिमिरे, प्रा.डा. खगेन्द्र आचार्य, प्रा.डा.मिनराज ढकाल, प्रा.डा. रमेश दाहाल र प्रा.डा. सनत बराल छन् ।

शनिबार, २४ बैशाख, २०७९, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर