इटहरी । सुनसरीको रामधुनी नगरपालिका ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् ।
छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाकारी दिएको छ ।
उनले नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पौडेलको शव आफ्नै घरपछाडि शनिबार बिहान भेटिएको थियो ।
तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । त्यसको भोलिपल्ट सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।
चुनाव र पार्टीगत विवादले पौडेल केही दिनयता तनावमा रहेकोले घटना भएको आशंका गरिएको छ । नेपाली कांग्रेसका क्रियाशील नेता रुपमा सक्रिय पौडेलले वडाध्यक्षको दाबी गरेपनि पार्टीले उम्मेदवार नबनाएपछि बागी उम्मेद्वारी दिएका थिए । त्यसपछि पार्टीले उम्मेदवारी फिर्ता गर्न दबाब दिएको थियो ।
उम्मेदवारी फिर्ता नलिएपछि काँग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको थियो । प्रहरीले भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । शवको प्रकृति हेर्दा उनले आत्महत्या गरेको देखिने प्रहरीको भनाइ छ ।