विर्तामोड । झापामा केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने एक बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीको विवाहमा बेहुला झापा गाउँपालिका ४ निवासी विश्वेश्वर चौधरीका छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए ।
बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको डिएसपी वसन्त पाठकले जानकारी दिए । बिहीबार राति बेहुला पक्ष विवाहको लागि बेहुलीको घर पुगेको थियो विवाह सम्पन्न भएपछि बेहुला पक्षले बिहान दाइजोमा मोटरसाइकल माग्दा दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने परिवारमा कसरी छोरी दिनु भन्दै बेहुलीको परिवारजनले उजुरी दिएको हो । स्रोतका अनुसार दुबै पक्षबीच भएको सहमति अनुसार बेहुली पक्षले करिब ४ लाख रुपैयाँ बराबरको सामान बेहुलालाई दिएको थियो । तर, विवाह सकिएपछि मोटरसाइकल नपाए बेहुली नलैजाने अडान बेहुला पक्षले राखेपछि परिवारले प्रहरीमा खबर गरेको हो ।
बेहुला चौधरीलाई प्रहरीले बेहुलीको घरबाटै शुक्रबार विहान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेको छ । प्रहरीले बेहुलामाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालेको जनाएको छ ।