संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा जग्गा जालसाजी गरी ठगी गरेको आरोपमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षसहित तीन जना कारागार चलान भएका छन् ।
जग्गाधनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास गरेको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुरी र भोटखोला –४ का स्थानीय सुरेन्द्र तामाङ कारागार चलान भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
जग्गा ठगी आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका वडाध्यक्ष भोटे र मालपोलका नासु पराजुलीसहित ३ जनालाई कारागार चलान गरिएको छ । गत फागुन २२ गते भोटखोला–४ कि विममाया तामाङको २७ रोपनी जग्गा जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी परेको थियो ।
उजुरी लगत्तै प्रहरीले जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुली, भोटखोला –४ सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिका –१ का पासाङ शेर्पालाई प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका सातै जना विरुद्ध ठगी र संगठित अपराध मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।
जग्गा ठगी मुद्दामा पक्राउ परेको अन्य चार जना भने धरौटीमा रिहा भएका छन् । अदालतले लेखापढी व्यवसायी अनिष गुरुङ, कप्पना भोटे र ङिमा लाजुङ भोटेलाई बिहीबार जनही २ लाख ५० हजार रुपैयाँ र चैनपुर १ का पासाङ शेर्पालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ । भोटखोला गाउँपालिका २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा भइरहेको छ । गत १ र २ फागुनमा स्थानीय दलबहादुर तामाङको नाममा रहेको करिब तीन करोड रुपैयाँ मुआब्जा आउने कित्ता नं.२७५ र २८० को २७ रोपनी जग्गा वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा रजिस्ट्रेसन पास भएको थियो ।
विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएको तथ्य प्रहरीले फेला पारेको थियो । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङ शेर्पाबाट मालपोल कार्यालयका नासु मेहन्द्रले श्रीमती कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरेका थिए । अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ ।
अन्य ४ कित्ता भने विममायाकै नाममा सुरक्षित छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल एक लाख रुपैयाँको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गाधनी विममायालाई २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ । सो जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ ।