गुणस्तरहिन उत्पादन गर्ने दुगडको उद्योगलाई कार्वाही

विराटनगर। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोतिलाल दुगडले सञ्चालन गरेको दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालिले गुणस्तरहिन उत्पादन बजारमा पठाउने गरेको पुष्टि भएपछि वाणिज्य विभागले कार्वाही गरेको छ ।

दुगडको कम्पनीले उत्पादन गरेको सेञ्चुरी मसलामा अखाद्य वस्तु मिसावट रेको भेटिएपछि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

दुगडको कम्पनीलाई विभागले हदैसम्मको कारबाही गरेको विभागले जनाएको छ । कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

विराटनगरमा रेहको कप्मनीले उत्पादन गरेको सेन्चुरी मसलामा अखाद्य वस्तु भेटिएको थियो । मसलामा मिसावट भेटिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले २०७८ साउन २९ गते विभागमा दिएको उजुरीपछि अनुसन्धान गर्दा गुणस्तरहिन प्रमाणित भएकोले कार्वाही गरिएको विभागले जनाएको छ ।

विभागले गत चैत १५ गते राष्ट्रिय उपभोक्ता मञ्चलाई पत्र लेख्दै बिगतमा पनि बिभिन्न अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रालिलाई कारबाही गरिएको जनाएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ अनुसार कार्वाही गर्दै आगामी दिनमा गुणस्तरिय मसला उत्पादन गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

उजुरीपछि विभागले स्वतन्त्र रूपमा अनुगमन र नमुना संकलन गरेर परीक्षण गर्दा गुणस्तरहिन प्रमाणित भएको हो । खुमलटारमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को ल्याबमा सेञ्चुरीको मसला परीक्षण गर्दा गुणस्तरमा समस्या देखिएको हो ।

दुगडले भने आफ्नो उद्योगका तर्फबाट कुनै समस्या नभएको दाबी गरेका छन् । अनुगमन टोलीले म्याद सकिएको सामान परीक्षण गरेकोले गुणस्तरमा समस्या देखिएको हुनसक्ने उनको भनाइ छ ।

केपी ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री रहेका दुगड त्यसपछि ओलीको आर्थिक सल्लाहकारसमेत रहेका थिए । उनीले आर्थिक सल्लाहकार भएको बेला नुनको अवैध कारोबार गर्दै आएको आरोप लागेको थियो । तर, उनीमाथि कुनै कार्वाही भएको थिएन ।

दुगड स्पाइसेस एन्ड फुड इन्डस्ट्रिज प्रालिले स्प्रिंकल टेबल साल्ट (नुन) को कारोबार गरेको थियो । अनुमति नलिई उनको उद्योगले चर्को मूल्यमा नुन बेचेको पुष्टि भएपनि कुनै कार्वाही भएन । वाणिज्य विभागले भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न राखिएको नुन फेला पारेपनि राजनीतिक संरक्षणको कारण कार्वाही भएन ।

शुक्रबार, २३ बैशाख, २०७९, बिहानको ११:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर