विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ११ शुक्रबारेमा उम्मेदवारको घरनजिक आज बिहान भेटिएको शङ्कास्पद बस्तु नक्कली बम ‘होक्स’ रहेको पुष्टि भएको छ ।
नेपाली सेनाको डिस्पोजल टोलीले गरेको अनुसन्धानमा होक्स मात्र देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकै बारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा आज बिहान शंकास्पथ बस्तु देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीका अनुसार उक्त वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाइसकेको छ । सेनाको टोलीले उक्त वस्तु तर्साउने उद्देश्यले राखिएका नक्कली बम भएको बताएको छ । बमजस्तो देखिएकाले स्थानीय बासिन्दा आतंकित भएका थिए ।
शङ्कास्पद बस्तु भेटिएपछि सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरेको थियो । कुकुर भित्र नेकपा माओवादी क्रान्तिकारी पर्चा र ढुङ्गा भेटिएको एसपी कोइरालाले जानकारी दिए । ‘निर्वाचनको मुखमा तर्साउन शङ्कास्पद बस्तु राखेको पाइयो,’ एसपी कोइरालाले भने , ‘राख्ने मान्छेको खोजी कार्य भइरहेको छ ।’