काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा उडान रोकिएको छ ।
अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको जानकारी फोनमा दिएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।
अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसनमा लागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले सेतोपाटीलाई जानकारी दिए। अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेको बताइएको छ ।
बम रहेको हल्लापछि केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन्। अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।
विमानस्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । विमानस्थलमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी परिचालित छन् भने नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।