विराटनगरका नयाँ मतदाताको एउटै एजेण्डा ‘रोजगारी सिर्जना होस्, व्यवसाय निर्धक्क गर्न पाइयोस्’

विराटनगरका नयाँ मतदाताको एउटै एजेण्डा  ‘रोजगारी सिर्जना होस्, व्यवसाय निर्धक्क गर्न पाइयोस्’

विराटनगर ।मोरङ विराटनगर महानगरपालिका १० का गोकुल कार्की यही प्रिन्टिङ व्यवसायमा रमाइरहेका छन् । उनी लामो समयदेखि यो पेशामा लागेका हुन् । यसअघिकै निर्वाचनमा पनि उनको भोट हाल्ने उमेर र भोटर लिष्टमा नाम थियो । तर, उनले मतदान गरेनन् । कारण उनलाई भोट हाल्ने इच्छा नै थिएन । यस पटक भने मज्जाले भोट हाल्ने उनको रहर छ ।
‘यो भन्दा अगाडि भोट नै दिइन । दिन मन नलागेर नदिएको हुँ । यस पटक मज्जाले भोट दिन्छु,’ कार्की भन्छन्, ‘मलाई सरल रूपले काम गर्ने वातावरण मिलोस् । मैले तिरेको करको सही सदुपयोग होस् ।’ उनलाई पिएचडी गर्ने इच्छा छ । तर, उनले विराटनगरबाट त्यो अवसर नपाउँदा असन्तुष्टी पोख्छन् । ‘हामीले अध्ययन गर्न चाहेको कुरा यहीबाट पुरा होउन् । पिएचडी गर्न विराटनगरबाटै पाइयोस् । कोशी अस्पतालाई राम्रो र सुविधासम्पन्न बनाइयोस्,’ उनी आफ्नो एजेण्डा सुनाउँछन् ।
विराटनगरकै मुनु आलम पहिलो पटक यही स्थानीय निर्वाचनमा मतदान गर्दैछन् । ‘पहिलो पटक भोट हाल्ने तयारीमा छु, धेरै एक्साइटेड छु,’ उनी भन्छन्, ‘हाम्रो भोट महत्वपूर्ण छ । एउटाले गर्दा नै हारजित हुन्छ जसको कारण हाम्रो भविष्य बन्न पनि सक्छ र नबन्न पनि सक्छ । हाम्रोलाई भन्दा राम्रोलाई दिन्छु ।’
कुराकानीको क्रममा उनले कोरोना कालमा धेरै दुःख पाएको सम्झे र भने, ‘कोरोना कालमा धेरै नै नराम्रो अवस्था भयो । अझै पनि त्यस्तो अवस्था आउँदा राम्रो व्यवस्थापन होस् । औषधि उपचारको व्यवस्था राम्रोसँगले गर्न पाइयोस् । १० हजारको औषधिलाई हामीले ४० हजार तिरेर पनि त्यसबेला लगाउन पाइएन । यस्ता कुरामा अब जित्नेले ध्यान दिनुपर्छ ।’
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत सिमा अर्यालको प्रमुख एजेण्डा रोजगारी हो । रोजगार भए उत्पादन बढ्ने र मानिसको आम्दानी बढ्ने बताउँदै उनी देश समृद्ध पनि त्यसरी नै बन्ने बताउँछिन् । सिमा पनि पहिलो पटक मत हाल्ने तयारीमा छिन् ।
मोरङ कटहरी ४, की लिलम कुमारी राम पनि नयाँ मतदाता हुन् । उनी पनि भोट हाल्न इन्छुक छिन् । ‘भोट हाल्न इच्छुक छु । जसले विकास गर्छ त्यसलाई भोट हाल्छु,’ उनी आफ्नो एजेण्डा पनि सुनाउँदै भन्छिन्, ‘बेरोजगारलाई रोजगार नै अहिलेको प्रमुख आवश्यकता हो । हाम्रा दाजुभाइ कति जना रोजगारीको लागि विदेश गएका छन् । त्यहाँ विकास भएको छ तर हाम्रोमा विकास भएको छैन ।’
कटहरीकी स्मृती तिम्सिनाको एजेण्डा भने अर्कै छ । उनी उम्मेदवारको आचरण र व्यवहार हेरेर भोट हाल्ने बताउँछिन् । विकासको नाममा सडकको कुरा मात्रै लिएर आउनेलाई भोट नहाल्ने बताउने उनी स्वास्थ्य र शिक्षाको विषय उठाउनेलाई भोट दिने बताउँछिन् । ‘म मान्छेको एजेण्डा, विचार हेरेर भोट हाल्छु । स्वास्थ्य, शिक्षाको विषयलाई कसरी उठाएको छ त्यो विषयलाई हेरेर भोट हाल्छु,’ उनी भन्छिन्, ‘ उम्मेदवारको आचरण र व्यवहार पनि हेरेर भोट हाल्छु ।’
मोरङ सुन्दरहरैंंचा ११ की उषा लिम्बू भने भ्रष्टाचार विरुद्धमा आउनेलाई भोट दिने बताउँछिन् । विराटनगर १३ कि प्रतिमा साह मान्छे र पार्टी दुवै हेरेर भोट हाल्ने बताउँछिन् ।
जहदा ३ का सतिषकुमार राजवंश पनि पहिलो मतदाता हुन् । उनी आफ्नो मत महत्वपूर्ण भएको बताउँदै रोजगारी सिर्जना नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिन्छन् । ‘पहिलो पटक मत दिन पाउने कुराले खुसी लागिरहेको छ । मैले आफ्नो मताधिकार प्रयोग गर्दैछु । सबैभन्दा पहिले जहदामा रोजगारीको समस्या छ । एक त पढेलेखेका मानिस छैनन् । पढेलेखेका मानिस पनि रोजगारीमा जाँदा पनि पारिश्रमिक राम्रो पाएका छैनन्,’ उनी भन्छन्, ‘यो विषयमा चाहिं जनप्रतिनिधिले ध्यान दिउन् । कामको लागि विराटनगर धाउनु नपरोस् ।’
महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत सुदिक्षा थापामगर १९ वर्षकी भइन् । उनलाई पनि पहिलो पटक भोट हाल्न पाउने कुराले खुसी लागिरहेको छ । ‘एकदमै धेरै खुसी छु । के हुन्छ कस्तो हुन्छ भन्ने लागिरहेको छ,’ सुदिक्षा भन्छिन्, ‘जो एकदमै राम्रो गर्न सक्छ, त्यसले नै जितोस् । पार्टीगत हिसावले भन्दा पनि स्वतन्त्र उठेका पनि राम्रा छन् भने उनीहरुले जित्नुपर्छ भन्ने मलाई लागेको छ ।’

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्