
अन्तरवार्ता
महिलाहरुलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्दै स्वावलम्बी, आत्मनिर्भर र सामाजिक परिवर्तनको वहाक शक्तिको रुपमा अगाडि बढाउन शिक्षाको चेतना न्यून भएको क्षेत्रमा निरन्तर क्रियाशील रहदैं आएकी नेतृ हुन् बसुन्धरा झा । विगत १६ वर्षदेखि शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक र सामाजिक अभियानलाई सँगसँगै अगाडि बढाउदै आएकी महिला नेतृ झा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको उप–मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएकी छन् । उनी २०६२ सालमा मधेशी जनअधिकार फोरमबाट संगठित हुँदै राजनीतिक अभियानमा क्रियाशील रहदै आएकी थिइन् । मधेशी समुदायमा परिचित महिला नेतृ झालाई जनता समाजवादी पार्टीले उम्मेदवार नबनाएपछि पार्टी राजनीतिको करिव १७ वर्षलामो सम्बन्धमा पूर्णविराम लगाउँदै उनले उपमेयर पदमा मनोनयन दर्ता गरेर चुनाव प्रचारमा जुटेकी छन् । ‘जेब्रा’ चुनाव चिन्ह लिएर जनताका बीचमा आफ्ना योजनाहरु लिएर हिडिरहेकी झासँग हाम्रोमत दैनिकका तर्फबाट गोकुल पराजुलीले गरेको कुराकानी संक्षेपमा प्रस्तुत गरिएको छ :
पार्टीभित्र सशक्त महिला नेतृको रुपमा रहँदारहँदै पार्टीबाट टाढिएर तपाईंलाई स्वतन्त्र उम्मेदवार बन्ने अवस्था कसरी उत्पन्न भयो ?
म लामो समयदेखि पार्टी राजनीतिमा आवद्ध भएर महिलाहरुको स्वाभिमान रक्षा गर्ने, उनीहरुको राजनीतिक र अन्य अधिकारहरुको प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने, महिलाहरुलाई उद्यमशील बनाई आत्मनिर्भर बनाउन राजनीतिक पार्टीले भूमिका खेल्नु पर्छ भन्ने विचार प्रवाह गर्ने काममा सक्रिय रहँदै आएको क्रियाशील महिला हुँ । हाम्रो भाषा, कला, संस्कृतिको संरक्षण गर्दै पार्टीको नीति र योजनालाई तलसम्म प्रसार गर्ने कार्यमा मैले सँधै अग्रभागमा रहेर काम पनि गरेको छु । मैले गरेको काम देखेका जनताले मलाई महागनरमा गएर अझ बढी भूमिका खेल्नुपर्छ भनेर भन्दै आउनुभएको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये एउटा पदमा महिला उम्मेदवार उठाउनै पर्ने कानुनी व्यवस्था भएकोले म उपप्रमुख पदका लागि तयार थिएँ र त्यसै अनुरुप तयारी पनि गरेकी थिएँ । यहाँ गठबन्धन बनाएर चुनावमा जाने कुरा भयो । गठबन्धन आजको राजनीतिक आवश्यकता हो तर त्यसको नाममा महिलाहरुको अधिकार खोसिनु हुन्न भन्नेमा हाम्रो पूरा ध्यान थियो । हाम्रो पार्टीले महिलालाई उपप्रमुखको उम्मेदवार बनाउने विश्वास गरेका थियौं तर त्यसो हुन सकेन । पार्टीले पुरुषलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेपछि महिलालाई संविधानले दिएको अधिकार रक्षा गर्न मैले उम्मेदवारी दर्ता गराउनु परेको हो । महिलाको अधिकार र अवसर खोज्ने राजनीतिक दललाई अब कतिदिन विश्वास गर्न सकिन्छ, उनीहरु न्यायका लागि कति प्रतिवद्ध छन् भन्ने प्रश्न उठेपछि मैले त्यो प्रवृत्तिको विरोध गर्न पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।
तपाईंले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टी दबाबमा परेको होला, उम्मेदवारी फिर्ता गराउन प्रयास गरेनन् ?
उपप्रमुख पदमा मेरो दाबी छ भन्ने विषयमा सबै नेताहरु जानकार हुनुहुन्थ्यो । तर उहाँहरुले हामीसँग कुनै छलफल गर्नुभएन । मनोनयन गर्ने दिन बिहानसम्म पनि म नेताहरुसँग छलफल गर्न चाहिरहेको थिएँ तर उहाँहरुले पूर्ण वेवास्ता गर्नुभयो । त्यसपछि मैले १७ वर्षदेखि गर्दै आएको शिक्षकको जागिरबाट राजीनामा दिएँ, पार्टीबाट राजीनामा दिएँ र स्वतन्त्र उम्मेदवारी दर्ता गरें । हामी महिलाको हक सँगसँगै मधेश र मधेशीको अधिकारका लागि पनि उतिकै संघर्ष गरेको व्यक्ति भएकोले उम्मेदवारी दर्तापछि पनि कुनै छलफल र सम्वाद होला भन्ने आशामा थियौं । तर परिस्थिति त्यस्तो हुन सकेन । उहाँहरु छलफलका लागि सम्पर्कमै आउनुभएन । उहाँहरुमा एक प्रकारको दम्भ देखियो । महिलाको अधिकार हनन् गर्न उहाँहरु उद्दत हुनुभयो । नगरसभापति जो अहिले गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएको छ उहाँले पनि पहल गर्नुपथ्र्यो त्यो समेत गर्नुभएन । यो प्रवृत्तिलेसमावेशी र समानुपातिकको विषय उहाँहरुले बोल्ने मात्र हो लागू गर्ने होइन भन्ने आभाष गराएको छ ।
तपाईं चुनाव प्रचारमा लागिसक्नुभयो । जनताबाट कस्तो रेस्पोन्स पाउनुभएको छ ?
म जनतासँग निकै निकट भएर काम गरेको व्यक्ति हुँ । महिला सशक्तीकरणको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, राजनीतिक आन्दोलन र अभियानमा म सँधै जनताकै साथमा छु । त्यसैले विशेषगरी मधेशी महिलाहरु मेरो उम्मेदवारी चाहन्थे । अहिले म स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा गएको छु । जनताको अत्यन्त धेरै सहानुभूति र सहयोग छ । मेरो प्रचारमा उहाँहरु स्वतस्फूर्त हिडिरहनुभएको छ । मेरो चुनाव चिन्ह ‘जेब्रा’को प्रचार म एक्लोबाट सम्भव छैन त्यो काम महिला दिदीबहिनी र हिजो हरेक आन्दोलन र अभियानमा सँगै हिडेका जनताहरुले नै गरिरहनुभएको छ । समग्रमा भन्नुपर्दा मेरो उम्मेदवारीपछि विराटनगरको ठूलो हिस्सामा उत्साह देखिएको छ ।
तपाईंले उम्मेदवारी फिर्ता लिएको कुरा पनि आएको छ, कसैलाई समर्थन गर्नुभएको हो ?
यो बिल्कुल गलत हल्ला हो । मेरो राजनीतिक मर्दन गर्ने नियतले कसैले चलाएको यो अफवाह हो । मैले सोचेर बिचार गरेर, भएको जागिर छोडेर, राजनीतिमा व्यक्तिगत लाभलाई गुमाउन तयार भएर यस क्षेत्रमा लागेका आम महिला दिदीबहिनीहरुको अधिकारका लागि बिद्रोह गरेर उम्मेदवारी दिएको हुँ । त्यसैले मैले उम्मेदवारी फिर्ता लिएँ वा कसैलाई समर्थन गरिदिएँ भन्ने कुरा गलत हो । म निरन्तर चुनावी अभियानमा छु । मैले चुनावको प्रचारलाई अझ तीब्र बनाउदै लगेकोछु । म शिक्षित महिला भएको हुनाले कसैको दवाव र प्रभावमा पर्नेछैन । मैले जस्तो हिम्मत नगर्ने हो भने नेपालका राजनीतिक पार्टीहरुमा महिलाहरुको अधिकार सुरक्षित हुने देखिएन त्यसैले पनि एउटा आँट गरेकी हुँ । अब म मैदानमा गइसकेको हुँदा जनताको फैसला नआएसम्म मेरो कदम रोकिनेवाला छैन ।
तपाईँ उपप्रमुखको उम्मेदवार हुँदैगर्दा तपाईंका प्राथमिकताहरु के हुन् ?
मेरो प्राथमिकता महिलाहरुलाई स्वावलम्बी र आत्मनिर्भर बनाउने, सक्षम, योग्य र क्षमतायुक्त बनाउने, आत्मरक्षक र सम्मानमा वृद्धि गर्ने विषय मेरो मुख्य प्राथमिकता हुन् । संविधान र कानुनले दिएका अधिकारको प्रयोग गर्दै महानगरलाई महिलामैत्री, न्यायको विश्वासिलो आधार क्षेत्र निर्माण गर्ने काममा मेरो ध्यान रहने छ । त्यसबाहेक विकास निर्माणको सन्तुलन लगायतका विषयमा पनि मेरो सशक्त भूमिका हुनेछ ।
गठबन्धन दलमा सशक्त भूमिकामा रहनुभएका दुई फरक पार्टीका महिला नेतृहरु अहिले उप–प्रमुखमा स्वतन्त्र उम्मेदवार बन्नुभयो, तपाईंहरुबीचको एकताको सम्भावना के छ ?
अहिलेसम्म यस विषयमा हामीबीच कुनै छलफल भएको छैन । दक्षिणी क्षेत्रमा मेरो बलियो उपस्थिति छ । उत्तरतिर स्वतन्त्र उम्मेदवारी दिनुभएकी नमिता न्यौपानेजीको पनि राम्रो उपस्थिति छ । हामीमध्ये जो जितेर आउँदा पनि महिला नै आउने हो । त्यसमा फरक पर्दैन तर, दुबै पदमा पुरुष आउन हुन्न । यो समग्र महिलाको हित विपरित हुन्छ । अहिले मेरो पक्षमा माहौल राम्रो हुँदै गएको छ । नमिता जिले पनि अन्तिममा समिक्षा गर्नुहोला, म पनि गर्छु । यदि हामी दुई बाहेक अरुले जित्ने अवस्था देखापरेमा हामी बसेर मिलाउनु पर्छ । त्यसका लागि हामी दुवै तयार रहनुपर्छ भन्नेमा म स्पष्ट छु ।
अन्त्यमा केही भन्नु छ ?
म चुनावी मैदानमा खटिएको बेला मैले उम्मेदवारी छोडेको भनेर गलत हल्ला चलाइयो । त्यस प्रकारको गलत सूचना प्रवाह नगर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु । मेरो उम्मेदवारी जारी छ । त्यसैले मेरो चुनाव चिन्ह जेब्रामा मतदान गर्न हाम्रोमत दैनिक मार्फत आम नगरबासीमा हार्दिक अपिल गर्दछु र यो अवसर दिएकोमा धन्यवाद पनि दिन्छु ।