विराटनगर । भारतदेखि तस्करी गरी ल्याएको ठुलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ । विराटनगर – ९ गुद्रीमा खाद्यन्यको थोक पसल संचालन गर्ने अनिल साहले क्याररिङ्गमार्फत तस्करी गरी ल्याएको केराउ प्रहरीले बरामद गरेको हो ।
साहले एक दर्जन बढी क्यारिङ्ग गर्ने प्रयोग गरी भारतदेखि अवैध रूपमा केराउ ल्याउने गरेको थिए । तस्करी गरी ल्याएको केराउ उनले गुद्रीमा भण्डारण गरी राख्ने गरेका थिए । तस्करीको केराउ अन्यत्र पढाउने गरेको प्रहरीले पत्तो पाएपछि बुधवार ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरेको ४ हजार २ सय केजी केराउ मोरङ प्रहरीबाट खटिएको विशेष प्रहरी टोलीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको उक्त केराउ ४ लाख मूल्य बराबरको रहेको छ । प्रहरीले केराउसहित काभ्रे पाँचखाल ६ का ५२ वर्षीय ट्रक चालक गोपालनाथ राईलाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले तस्करी गरी ल्याएको अवैध लत्ताकपडा पनि बरामद गरेको छ । अररिया नगर पञ्चायत ९ जोगवनीका २९ वर्षीय अनोज सिंहले बीआर ३८ एम ६६७५ नम्बरको भारतीय मोटरसाइकलमा विराटनगर महानगरपालिका वडा ११ स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न लत्ताकपडाहरू समेत गरी कुल २५ लाख ३ सय बराबरको सामान बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
बरामद गरेको कपडा, केराउ र ट्रक आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।