चित्तलको सिङसहितको छाला भारत लैजाँदै गरेका युवा प्रहरीको नियन्त्रणमा

विराटनगर । चित्तलको दुईवटा सिङसहितको टाउकाको छाला भारततर्फ लैजाँदै गरेको एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।

आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाएको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट गत आइतबार साँझ पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिए।

झोलामा राखेर जोगवनीतिर लग्दै गरेको अवस्थामा प्रहरीले थापाको साथबाट बरामद गरेको वस्तु चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको उनको भनाइ छ।

पक्राउ परेका थापालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अघि बढाउन अदालतबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको पासवानले बताए।

पक्राउ परेका थापाले भने उक्त वस्तु आफ्नो घरमा वर्षौदेखि रहेको र भारत जोगवनीका योगेन्द्र साहलाई उपहार स्वरूप लगिदिएको बताएका छन्। सहायक वन अधिकृत पासवानका अनुसार वन्यजन्तुको अंग घरमा राख्न र ओसारपसार गर्न हुँदैन भन्ने आफूलाई थाहा नभएको बयान थापाले दिएका छन्। बरामद भएको चित्तलको सिङसहितको छाला धेरै पुरानो रहेको र रंग लगाएर टल्काइएको उनको भनाइ छ।

बिहिबार, १५ बैशाख, २०७९, बिहानको ०९:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर