कटहरीका सबैभन्दा कान्छो उम्मेदवार विनोद, भन्छन्, ‘जनताको सेवक बनेर काम गर्छु’

कटहरी ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकामा २ सय १३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा ९, उपाध्यक्षमा ६, वडाध्यक्षमा ४४, सदस्यमा ७८, महिला सदस्यमा ३८ र दलित सदस्यमा ३८ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्, कटहरी ४ का २४ वर्षीय विनोद सिंह ।
सामाजिक रूपमा सक्रिय हरेक युवा विनोद कटहरी गाउँपालिकाको ४ नं. वडामा वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । सिंहले नेकपा माओवादी केन्द्रबाट कटहरी गाउँपालिका ४ को वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।स्नातक गर्दै आएका सिंह कटहरी ४ नं. वडालाई सुशासन कायम गर्दै नमुना वडाको रूपमा विकास गर्ने योजना अनुसार वडाध्यक्षमा उम्मेदवारी दिएका बताए । ‘म जनताको सेवक बनेर शिक्षा, स्वास्थ्य, विपन्न वर्गको जीवनस्तर सुधार्ने काममा सक्रिय हुन चाहन्छु,’वडा अध्यक्षको उम्मेदवार सिंहले भने, ‘यसअघिका जनप्रतिनिधिहरूले आज मैले उठाएका कुराहरू गरिदिनुभएको भए म आउनै पर्दैनथ्यो । उहाँहरूमा इच्छाशक्ति र इमानदारी भएको भए त्यो पूरा गर्न पनि सक्नुहुन्थ्यो । जनता साथमा हुनुहुन्थ्यो, बजेट थियो र काम गर्ने ठाउँ थियो । तर उहाँहरूले भिजन र इमानदारिता देखाउन सक्नुभएन ।’
तर्क र स्पष्ट भिजन राख्न सक्ने क्षमताका धनी विनोद युवा पुस्तामाझ देखिएको क्रेज लोभलाग्दो छ । नेपाली राजनीतिले नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा मतदाताका लागि उनी उत्तम छनौट हुन सक्छन् ।‘विकास कार्यलाई पारदर्शी र निष्पक्ष तुल्याउन र शून्य सहनशीलताको साथ भ्रष्टाचार अन्त्य गराउन मेरो पहलकदमी हुनेछ,’ उनले भने । गरिबीको रेखामुनि रहेका व्यक्ति र समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने, आवास कार्यक्रम सञ्चालन गरी वासस्थानको व्यवस्था गर्ने, सुकुम्वासीलाई व्यवस्थित गर्न पहलकदमी गर्ने, सडक सञ्जालको बिस्तार गर्ने लगायतका योजना रहेको उनले सुनाए । वडाध्यक्षमा विजयी भए सबैभन्दा पहिले शिक्षाका समस्या समाधानमा लाग्ने उनले बताए । चेतनाको अभावका कारण बाल मजदुर बढेको, प्राथमिक विद्यालयमा पनि सबैको पहुँच नभएको उल्लेख गर्दै उनले सबै बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउने उनले बताए ।
यस वडामा माओवादी केन्द्रबाट वडा सदस्यहरूमा मनोज कामत, घनश्याम साह सोनार, सबेरुन खातुन, जिरा देवी मुसहरको उम्मेदवारी रहेको छ ।कटहरी ४ को वडाध्यक्षमा सिंहसहित पाँच जनाको उम्मेदवारी परेको छ । यस वडामा काँग्रेसबाट बच्चु मिया, एमालेबाट मन्नु साह, जसपाबाट जिवनेश्वर यादव र स्वतन्त्रबाट अनुरुद राजवंशीको उम्मेदवारी परेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडाबाट काँग्रेसका मन्टु शेखले जितेका थिए ।
बुधबार, १४ बैशाख, २०७९, रातीको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर